close

भूमेमा पहिलोपल्ट पुगे एमबीबीएस डाक्टर 

भूमेमा पहिलोपल्ट पुगे एमबीबीएस डाक्टर 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको भूमे गाउँपालिकामा पहिलो पटक एमबीबीएस डाक्टरबाट स्वास्थ्य सेवा सुरु भएको छ । गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले एमबीबीएस डाक्टरसहितको कोभिड-१९ अस्थायी अस्पताल उद्घाटन गरेका हुन् । 


भूमे वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकी काँक्रीबाट कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याई गाउँपालिकामै पहिलो पटक एमबीबीएस डाक्टरबाट सेवा दिन सुरु गरेको हो । हाललाई ५ शय्याको कोभिड–१९ अस्थायी अस्पतालको रूपमा स्वास्थ्य चौकी काँक्रीमै स्थापना गरिएको छ । 


संघीय सरकारले पठाएको १० लाख रुपैयाँबाट एक जना डाक्टरसहित अरू जनशक्ति व्यवस्थापन गरी अस्पतालले स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष बुढा मगरले बताए । ‘अस्पतालका लागि आवश्यक औषधी तथा अत्यावश्यकीय उपकरण पनि खरिद गरिसकेका छौँ’, उनले भने । 


१ जना एमबीबीएस डाक्टर, २ जना स्टाफ नर्स र १ जना ल्याब टेक्निसियनले अस्पतालमा सेवा सुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक सञ्जीव खड्काले बताए । ‘कोभिड-१९ को उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइए पनि सबै प्रकारका बिरामीको उपचार गरिनेछ’, सह-संयोजक खड्काले भने । 

 

अस्पताल स्थापना र सञ्चालनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १२ लाख रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिकाका १ देखि ७ नम्बर वडाबासीलाई लक्षित गरी गाउँ कार्यपालिकाले काँक्रीमा अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

भूमेमा ९ वटा वडा रहेकामा ८ र ९ नम्बर वडाका लागि चुनबाङमा संघीय सरकारको सहयोगमा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ । भूमेबासीलाई रगत, दिसा, पिसाब, खकार परीक्षणलगायतको सुविधा लिन जिल्ला अस्पताल रुकुमकोट, रुकुम पश्चिम र रोल्पाको थबाङमा जानुपर्ने बाध्यता टरेको अध्यक्ष बुढाले बताए ।


हाललाई कोभिड-१९ अस्थायी अस्पताल स्थापना गरिकामा क्रमशः यसलाई अस्पतालकै रूपमा विस्तार गर्ने गाउँपालिकाको योजना छ ।