close

गल्याङमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय जनाले पाए उपचार

गल्याङमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय जनाले पाए उपचार

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका-६ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । गल्याङ नगरपालिकाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ३ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् । 


वडा नम्बर- ६ को पिडीखोला डुडेमा रहेको स्वास्थ्य कार्यालयमा संचालन भएको शिविरमा आसपासका क्षेत्रबाट स्वास्थ्य परीक्षण गराउन ठूलो संख्यामा सहभागी भएको गल्याङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

 
स्वास्थ्य शिविरमा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले सबै नागरिकको पहुँचमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउन नगरपालिका प्रतिबद्व भएको बताए । उनले गल्याङ नगरपालिकाद्वारा संचालन गरिएको गल्याङ नगर अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम संचालन भएसँगै नगरवासीलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन अझै सहज भएको धारणा राखे । 


नगरप्रमुख अधिकारीले भने, ‘गल्याङ नगर अस्पतालको क्षमता बढाउने प्रक्रिया भएको छ । यसबाट नगरवासीले अधिकतम लाभ लिने अवस्था बनेको छ ।’ अस्पतालमा दक्ष चिकित्सक रहेका र अझै थप्ने क्रममा रहेको उनले स्पष्ट पारे । 


नगरप्रमुख अधिकारीले पोखरामा रहेको गण्डकी अस्पताल र पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज तथा काठमाडौंको अस्पतालसँग गल्याङ नगर अस्पतालले मितेरी सम्बन्ध स्थापना गरिसकेको जानकारी दिए ।  


ठूलो रोग लागेका विपन्न परिवारका लागि नगरपालिकाले स्वास्थ्य कोष स्थापना गरी सहयोग गर्ने पनि उनले बताए । नगरप्रमुख अधिकारीले सबै नगरवासीको अनिवार्य स्वास्थ्य बीमाको नीति लिइएको भन्दै विपन्न परिवारका लागि नगरपालिकाले निःशुल्क बीमा गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

 

नगरवासीको बीमा गराउने कार्यमा अझै बढी क्रियाशील हुन स्वास्थ्य बीमा अभिकर्ताहरूलाई आग्रह गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमबाट कोही नछुट्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 
 

वडा नम्बर- ६ का वडा अध्यक्ष टीकाराम भुसालले वडावासीको सुविधाका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको भन्दै अधिकतम सेवा लिन आग्रह गरे । उनले आगामी दिनमा पनि वडावासीको स्वास्थ्यका लागि अन्य कार्यक्रमहरू पनि ल्याउने बताए ।