close

ओखलढुंगाका १८ हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा 

ओखलढुंगाका १८ हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि १८ हजार नागरिक बिमाको पहुँचमा पुगेका छन् । ओखलढुंगाको १ लाख ४७ हजार जनसंख्यामध्ये बिमाको पहुँचमा ८ स्थानीय तहका १८ हजार १ सय ७४ जना नागरिक रहेको स्वास्थ्य बिमा बोर्डको जिल्लास्थित कार्यालय प्रमुख सुदीप कार्कीले जानकारी दिए । 


उनका अनुसार जिल्लामा कार्यालय स्थापनाको भएको २ वर्ष नपुग्दै उत्साहजनक रूपमा नागरिक बिमामा आबद्ध भएका छन् । बिमाका लागि सामान्यतः १ आर्थिक वर्षमा ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । यो रकमले ५ जना परिवारसम्मको बिमा गर्न सकिन्छ । त्यसभन्दा बढी सदस्य भए प्रतिपरिवार थप शुल्क लाग्छ । 


स्वास्थ्य बिमा बोर्डको प्रावधानअनुसार निश्चित समूहका व्यक्ति तथा परिवारको पूर्ण निःशुल्क र आधा शुल्कमा पनि बिमा हुने कार्कीले बताए । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपांगता भई सो सेवा पाएका व्यक्ति, एड्स र क्षयरोगका बिरामीको भने बिमा निःशुल्क हुने व्यवस्था छ । 


त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविका र निजका परिवारलाई बिमा शुल्कको आधा छुटको व्यवस्था छ । बिमा गरेपछि प्रारम्भिक सेवा केन्द्र तोकिएका अस्पतालबाट सेवा लिँदा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुन्छ ।

 

ओखलढुंगामा जिल्ला अस्पताल रुम्जाटार, सामुदायिक अस्पताल मिसन ओखलढुंगा र प्राथमिक स्वास्थ्य केन्द्र रानीवनबाट यस्तो सेवा लिन सकिन्छ । स्वास्थ्य बिमा गरेका नागरिकले अहिले ओखलढुंगाका जिल्ला अस्पताल र सामुदायिक अस्पतालबाट सहज रूपमा सेवा लिइरहेका छन् । 


बिमा गरेपछि टिकटको समेत पैसा तिर्नु नपर्ने भएपछि सदरमुकाममा रहेको सामुदायिक अस्पतालमा बिमाका लाभग्राहीलाई थप सहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा डाक्टर नहुँदा चम्पादेवी र लिखुका नागरिक भने रामेछाप धाउन बाध्य छन् । 


कोरोना संक्रमणको सुरुआतबाट उक्त केन्द्रमा डाक्टर नबस्दा समस्या भएको स्थानीयको गुनासो छ । नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न संघीय सरकारले जनस्वास्थ्य सेवा ऐन, २०७५ निर्माण गरे पनि स्थानीय तहमा भने ऐन तथा नियम बन्न नसक्दा नागरिकको स्वास्थ्यको अधिकार सुरक्षित गर्न चुनौती देखिएको सरोकारवालाको भनाइ छ ।