close

खोटाङका ३ स्थानीय तहलाई संघीय स्वास्थ्य मन्त्रालयको पत्र

खोटाङका ३ स्थानीय तहलाई संघीय स्वास्थ्य मन्त्रालयको पत्र

Trulli
ADVERTISEMENT

खोटाङ- संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोटाङका ३ स्थानीय तहलाई आधारभूत अस्पताल स्थापना एवं स्तरोन्नतिका लागि स्वास्थ्य संस्था छनोट गर्न र आवश्यक जग्गा व्यवस्थाका लागि पत्राचार गरेको छ । ५, १० र १५ शय्याको आधारभूत अस्पताल स्थापना एवं स्तरोन्नतिका लागि मन्त्रालयको नीति तथा योजना शाखाले पत्र काटेको हो ।

 

पत्रमा आगामी फागुन मसान्तसम्म कार्यपालिकाको बैठकबाट अस्पतालका रूपमा स्तरोन्नति गरिने स्वास्थ्य संस्था छनोट गरी जिल्ला समन्वय समितिको सिफारिससहित पठाउन र अस्पताल निर्माणका लागि तोकिएको मापदण्डबमोजिमको जग्गा व्यवस्थापन गर्न भनिएको छ । 

 

जिल्लाका १० स्थानीय तहमध्ये मन्त्रालयले खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकालाई अस्पतालका रूपमा स्तरोन्नति गरिने स्वास्थ्य संस्था छनोट गर्न र आवश्यक जग्गा व्यवस्था गर्न पत्राचार गरेको हो ।

 

तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जारी गरेको पत्रमा अस्पताल स्तरोन्नतिका लागि स्वास्थ्य संस्था छनोट र जग्गा व्यवस्था गर्ने स्थानीय तहलाई आर्थिक वर्ष २०७८/७९ मा भवन निर्माणका लागि बजेट उपलब्ध गराइने तथा चालू आर्थिक वर्ष लागत सहभागितामा डीपीआरका लागि बजेट पठाउने उल्लेख छ । 

 

हालसम्म अस्पताल नभएका प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार गत १५ मंसिरमा हलेसी तुवाचुङ नगरपालिका, ऐँसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शय्याको, रावाबेँसीमा १० शय्याको तथा २३ मंसिरमा केपिलासगढी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन शिलान्यास भइसकेको छ । 

 

चालू आर्थिक वर्ष ‘भूगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्याको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गर्ने’ नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार मन्त्रालयले एकैसाथ देशभरका २ सय ५९ वटा स्थानीय तहलाई अस्पतालका रूपमा स्तरोन्नति गरिने स्वास्थ्य संस्था छनोट गर्न र जग्गा व्यवस्था गर्न भनेको छ ।

 

मन्त्रीस्तरको १२ पुसको बैठकले हालसम्म अस्पताल नभएका स्थानीय तहमा आगामी आर्थिक वर्ष आधारभूत अस्पताल निर्माण कार्य प्रारम्भ गर्ने गरी आवश्यक विवरण माग गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । 


रावाबेँसीमा भने स्वास्थ्य चौकी खार्पालाई नै १० शय्याको अस्पतालमा रुपान्तरण गरिनेछ । यस्तै, साकेलाको रतन्छा स्वास्थ्य चौकीलाई ५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने गरी सरकारले बजेट पठाएको छ । साकेलामा भने अस्पतालको भवन शिलान्यास गर्न बाँकी छ ।