close

स्वास्थ्य चौकीको कन्तविजोग (भिडियो खबर)

स्वास्थ्य चौकीको कन्तविजोग (भिडियो खबर)

ADVERTISEMENT

डडेल्धुरा- डडेल्धुरा सुुदूरपश्चिमप्रदेशको राजनीतिमा मात्र नभई विभिन्न क्षेत्रमा चर्चित जिल्ला हो । डडेल्धुराबाटै चुनिएर आएका कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४ पटक प्रधानमन्त्री भइसकेका छन् ।

 

तर, उनै प्रधानमन्त्रीको भोट माग्न जाने जिल्लामा भने खास विकास भएको पाइँदैन । ४ पटक प्रधानमन्त्री भएका देउवाको गृहजिल्लामा अस्पतालको अवस्था झन् नाजुक छ ।

 

त्यसमाथि गाउँ–गाउँमा खुलेका स्वास्थ्य चौकीको त कुरै नगरौँ । पानीसम्म पनि स्वास्थ्य चौकीमा हुँदैन भन्दा अचम्म लाग्ला । तर, डडेल्धुराको अमरगढी नगरपालिका यस्तै विजोगमा चलिरहेको छ । 

 

भूमिराज स्वास्थ्य चौकीमा रहेको च्यातिएको र खुइलिएको बोर्डले सबै कुरा छर्लंग्याएको छ । देश संघीयतामा गएको ३ वर्ष भइसक्यो । अझै पनि बोर्डमा भने सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय लेखिएको छ । ठूलो अक्षरमा लेखिएको नामै मेटिने अवस्थामा छ । 

 

स्वास्थ्य चौकीको शौचालयमा पानी छैन । शौच गर्ने स्थानमा ढुंगा हालिएको छ । निर्माण भएको २० वर्षभन्दा बढी भइसक्दा पनि स्वास्थ्य चौकीको यो हविगत देख्दा कसैलाई मतलब नै छैन । 


अस्तै अर्को स्वास्थ्य चौकी गोठजस्तै देखिन्छ । यही स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवग्राहीले सास्ती भोगिरहेका छन् । खानेपानी नहुँदा गर्भवती तथा अन्य बिरामी र कर्मचारीले भोग्नु परिरहेको समस्याको त लेखाजोखै छैन ।

 

शुद्ध खानेपानी नहुँदा खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्जको गुनासो छ । स्वास्थ्य चौकीमा खानेपानीका लागि वडाले ५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।

 

स्वास्थ्य चौकीमा देखिएको समस्या समाधानका लागि प्रयास गरे पनि खानेपानी मुहान नजिकका स्थानीयको असहयोगले सम्भव नभएको गुनासो वडाध्यक्षको छ ।