close

अछाममा १८ सय बढीलाई पहिलो चरणको कोरोना खोप

अछाममा १८ सय बढीलाई पहिलो चरणको कोरोना खोप

Trulli
ADVERTISEMENT

अछाम- अछाममा पहिलो चरणमा १८ सयभन्दा बढीलाई कोभिड-१९ को खोप लगाइने भएको छ । अभियानको पहिलो दिन अछाममा बयालपाटा, जिल्ला अस्पताल र मंगलसेन नगरका स्वास्थ्यकर्मीलाई बिहीबारदेखि खोप लगाइने भएको हो । जिल्ला अस्पताल मंगलसेनबाट खोप अभियान सुरु हुनेछ ।

 

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, सुरक्षाकर्मीलगायतलाई खोप लगाउने तयारी सुरु भएको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंंगानाले बताए ।

 

दोस्रो दिन बान्नीगढी जयगढ गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिका तथा तेस्रो दिन पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका र मेल्लेख गाउँपालिकाकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।

 

चौथो दिन तुर्माखाँद गाउँपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका स्वास्थ्यकर्मी र सरकारले प्राथमिकतामा राखेका व्यक्तिलाई खोप दिइनेछ स्वास्थ्य कार्यालय अछामले जनाएको छ । 


सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १० वटा खोप केन्द्रमा १६ हजार ३ सय ३८ व्यक्तिलाई खोप दिइनेछ । कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको छ भने बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर सदरमुकाममा रहेका अस्पतालमा खोप केन्द्र तोकिएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

 

खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकैसाथ हुनेछ । खोप अभियानको उद्घाटन बुधबार बिहान ११ बजे प्रधानमन्त्री केपी ओलीले गरे ।