close

इलाममा १७ सयलाई कोरोनाविरुद्धको खोप

इलाममा १७ सयलाई कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

इलाम- इलाममा १ हजार ७ सयलाई कोरानाविरुद्धको खोप दिइने भएको छ । १५ माघदेखि प्रथम चरणकोे खोप जिल्लाको ३ स्थानबाट लगाइने जनस्वास्थ्य कार्यालयले जानकारी दिएको हो ।

 

१८ वर्षमाथिकालाई इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ ।


खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि दिएपछि मात्रा पूरा हुनेछ ।

 

कोभिशिल्ड कोरोनाविरुद्धको खोप जिल्लामा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायिक स्वास्थ्य स्वयंसेविका, सफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सहचालक र कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनस्वास्थ्य प्रमुख बृजकुमार दासले जानकारी गराए । 


खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा अन्य खोपजत्तिकै सुरक्षित रहेको दासले बताए । उनले भने, ‘बाहिर सुनेजस्तो खोपमा कुनै समस्या छैन । अन्य खोपजत्तिकै सुरक्षित छ ।’ 

 

गर्भवती, स्तनपान गराउने आमा, कोरोना भाइरसको सक्रिय संक्रमणपछि ८ साता ननाघेको अवस्था भएको, प्लाज्मा थेरापी दिइएका कोभिडका बिरामी, कुनै पनि गम्भीर बिरामी, रक्तश्राव हुने वा रगतमा रगत रोकथाम गर्ने तत्त्वको कमी भएकाले खोप लगाउन नहुने दासको भनाइ छ ।


पहिला कोभिड संक्रमण भएका व्यक्ति, दीर्घ रोग मुटु, मस्तिष्क, फोक्सो, मिर्गाैला, क्यान्सर रोगी, एचआईभी एड्स, रोग प्रतिरोधात्मक औषधी सेवन गरिरहेकाले खोप लगाउन सक्नेछन् ।

 

खोप लगाइसकेपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, थकाइ र आलस्य महसुस हुने, ज्वरो वा टाउको दुख्ने, वाकवाकी हुने, मांसपेसी वा जोर्नी दुखाइ, बान्ता हुने, ज्वरो आउने, घाँटी दुख्ने आदि समस्या देखिन सक्ने जनस्वास्थ्य प्रमुख दासले बताए । इलाममा ६ हजार ९ सय ११ जनाको पीसीआर गरिएकामा २ सय ९६ जनाको पोजेटिभ देखिएको थियो ।