close

आर्थिक अभावले थलिँदै बयालपाटा अस्पताल

चिकित्सक अभावले प्रसूति सेवा प्रभावित

आर्थिक अभावले थलिँदै बयालपाटा अस्पताल

चिकित्सक अभावले प्रसूति सेवा प्रभावित

Trulli
ADVERTISEMENT

अछाम- अछामको साँफेबगरमा रहेको सामुदायिक बयालपाटा अस्पतालमा अनुमति प्राप्त शल्य चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । मान्यता प्राप्त प्रसूति गराउने शल्यचिकित्सक नहुँदा जटिल खाले गर्भवतीको शल्यक्रियाका लागि अन्यन्त्र रिफर गर्नु परेको अस्पतालले जनाएको छ । 


कुनै बेला ३ जना एमडीजीपी रहेको अस्पतालमा बाहिरबाट रिफर भएर सेवा लिन बिरामी बयालपाटा आउने गरे पनि हाल १ जना पनि नहुँदा शल्य चिकित्सक सेवा प्रभावित भएको हो । जिल्लाभित्र र अन्य जिल्लाबाट उपचारमा आएका जटिल खाले गर्भवतीलगायत एमडीजीपीबाट सेवा पाउने बिरामीलाई डाक्टर अभावमा अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ ।

 

‘सामान्य खाले प्रसूति सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्’, अस्पतालका प्रमुख डा. मन्दीप पाठकले भने, ‘जटिल खाले प्रसूति गर्नुपर्ने अवस्थामा केही समस्या देखिएको हो । जटिल अवस्थामा गर्भवतीको शल्यक्रिया गर्नुपर्ने हुन्छ, जसका लागि अनुमति प्राप्त चिकित्सक आवश्यक हुन्छ । हाल हामीसँग त्यो व्यवस्था छैन ।’


एक महिनापहिले अस्पतालमा कार्यरत स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचन राजीनामा दिएर गण्डकी प्रदेशको संक्रमक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएपछि सो पद रिक्त छ । 


सो सेवा कायम राख्न त्यतिबेलै विज्ञापन आह्वान गरिए पनि हालसम्म पदपूर्ति हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालले आर्थिक कठिनाइ खेपिरहेका बेला खोजेअनुसारको सेवा–सुविधा दिन नसक्ने भएपछि अस्पतालमा डाक्टर आउन नमानेको बताइन्छ । 


यसअघि कार्यरत एमडीजीपीहरूले अस्पताल छाड्नुको कारण पनि खोजी गर्नुपर्ने डा. पाठकको तर्क छ । पहिले ८ देखि ९ जना मेडिकल अधिकृत र ३ जना एमडीजीपी रहेको अस्पतालमा हालउक्त संख्या घटेको छ । अहिले १ जना अर्थोपेडिक सर्जन र ५ जना मेडिकल अधिकृत कार्यरत छन् । 


न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाको नेपाल सरकारसँग साझेदारीमा बयालपाटा अस्पताललाई सञ्चालनमा ल्याएर सबै सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । यसअघि लामो समयदेखि सहयोग गर्दै आइरहेको विदेशी पोसिवल हेल्थ नामक गैरसरकारी संस्थाले पनि सहयोग रकम कम गर्दै लगेको छ ।

 

स्वास्थ्य सेवाका लागि सहयोग गरिरहेका दातृ निकायले सहयोग रकम घटाउँदा आर्थिक समस्या कायमै छ भने अन्य आर्थिक स्रोतको भरपर्दो विकल्प नहुँदा अस्पतालले आर्थिक भार खेप्नु परिरहेको छ । 


आर्थिक भार धान्न नसक्ने भएपछि गत साउनमा अस्पतालबाट केही कर्मचारीसमेत हटाइएको थियो । सो विषयलाई लिएर विभिन्न राजनीतिक दलले अस्पताल प्रशासनलाई कर्मचारी नहटाउन दबाब दिएका थिए । राजनीतिक दलका प्रतिनिधिले अस्पताल सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट सहयोग माग गरेर अस्पतालबाट प्रवाह हुने कुनै पनि सेवाबाट नागरिकलाई वञ्चित नगराउने वचन दिएका थिए ।

 

सोही बेला बयालपाटा अस्पताल सञ्चालनका लागि सुदूर पश्चिम प्रदेश सरकारले ७ करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । तर, विनियोजित बजेटबाट अहिलेसम्म २ करोड मात्र निकासा भएको अस्पतालले जनाएको छ ।

 

पछिल्लो समय बयालपाटा अस्पतालमा आर्थिक समस्याका विषयमा सम्बन्धित सरोकार पक्ष तथा राजनीतिक दलहरूले चासो देखाएका छैनन् । अस्पतालको दीर्घकालीन सेवा कायम गर्न जिल्लाका स्थानीय सरकारले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिले बेखबर छन् । 


अस्पतालमा निःशुल्क सेवा पाइरहेका नागरिक अहिले अन्यत्र रिफर भई महँगो शुल्क तिर्नुपर्ने अवस्था आएपछि आर्थिक मारमा परेका छन् । बयालपाटा अस्पतालमा छिमेकी जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । 

 

बयालपाटा अस्पतालले १ दशकदेखि सामान्यदेखि जटिल खाले बिरामीको सबै उपचार तथा परामर्श सेवा निःशुल्क दिइरहेको छ । कोभिड सुरु नहुनु पहिले ४ सयदेखि ६ सयसम्म दैनिक बिरामीले सेवा लिने गरेको अस्पतालमा हाल संख्या घटेर ३ सय हाराहारी पुगेको छ ।


कोरोनाका कारण केही समय आकस्मिकबाहेकका सेवा बन्द रहेको अस्पतालमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हाल सबै सेवा सञ्चालन भइरहेका छन् । तर, बहिरंग सेवा भने अहिलेसम्म पूर्ण रूपमा सञ्चाल हुन सकेको छैन् । बयालपाटा अस्पतालमा करिब २ सय हाराहारी स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् ।