close

भूमेका गाउँबस्तीमै डाक्टरी सेवा

भूमेका गाउँबस्तीमै डाक्टरी सेवा

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको भूमे गाउँपालिकाले दुर्गमका बस्तीका बासिन्दालाई लक्षित गरेर हरेक साताको सोमबार एमबीबीएस डाक्टरबाट घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ ।

 

आर्थिक समस्यासँगै टाढाको अस्पताल धाउनुपर्ने अवस्थाका विकट गाउँबासीलाई गाउँगाउँमै सेवा प्रवाह गर्ने उद्देश्यले भूमेले हरेक साताको सोमबार घुम्ती शिविर सञ्चालन गरिरहेको हो ।

 

लुम्बिनी प्रदेश सरकारले अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि गाउँपालिकालाई १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । उक्त बजेटले गत पुसदेखि वडा नम्बर २ को भूमे स्वास्थ्य चौकी काँक्रीमा कोभिड‐१९ अस्थायी अस्पताल स्थापना गरी करारमा एबीबीएस डाक्टरको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए ।

 

हाल डाक्टरबाट साताको ५ दिन कोभिड‐१९ अस्थायी अस्पताल काँक्रीबाट सेवा प्रवाह भइरहेको छ, भने हरेक सोमबार नागरिकको घरदैलोमै पुगेर एबीबीएस डाक्टर अशोककुमार महतोले गाउँबासीलाई स्वास्थ्य सेवा दिन थालेको अध्यक्ष बुढाले बताए ।

 

दुर्गम गाउँठाउँका आर्थिक समस्या र अस्पतालसम्म आउन नसक्ने नागरिकलाई हरेक साता सोेमबार डाक्टरसहित अन्य स्वास्थ्यकर्मीको टोलीबाट घरआँगनमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको गाउँपालिकाको स्वास्थ्य शाखा सह‐संयोजक सञ्जीव खड्काले जानकारी दिए ।

 

‘कोभिड‐१९ अस्पताल काँक्रीमा सबै नागरिक आउन नसक्ने भएकाले उनीहरूको घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिन थालेका हौँ’, डाक्टर महतोको भनाइलाई उद्धृृत गर्दै खड्काले भने ।

 

शिविरमा नागरिकको स्वास्थ्यस्थिति अवस्थाबारे अध्ययन गर्नुका साथै कसैलाई जटिल प्रकृतिका रोग देखापरे थप उपचारका लागि परामर्श दिने मुख्य उद्देश्य रहेको सह‐संयोजक खड्काको भनाइ छ । हाल वडा नम्बर १, ३ र ४ मा घुम्ती स्वास्थ्य सेवा दिइसकिएको छ । ती वडामा कुनैमा पनि जटिल प्रकृतिको रोग देखिएको छैन ।

 

२१ जना पुरुष र ४७ जना महिला गरी जम्मा ६८ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । जटिल अवस्थाको रोग देखा नपरे पनि १ शिशु कुपोषित, ५ जना महिलामा पाठेघर समस्या, युरिक एसिडका ४ जना र ५ जना प्रेसर बिरामी भेटिएकालाई थप उपचारकन लागि अस्पताल जान परामर्श दिइएको सह‐संयोजक खड्काले बताए । आउँदो सोमबार भूमे वडा नम्बर ६ महतमा स्वास्थ्यशिविर सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।


काँक्रीबाटै एक्सरे सेवा


कोभिड–१९ अस्थायी अस्पताल काँक्रीमा हाल ल्याब परीक्षणसहितको एमबीबीएस डाक्टरबाट सेवा दिइँदै आएको छ । एक्सरे सेवाका लागि हाल सामग्री खरिद प्रक्रियामा रहेकाले केही समयपछि यस्तो सेवा दिइने गाउँपालिकाले जनाएको छ ।

 

यसले गाउँपालिकाबासी थप स्वास्थ्य सेवाको पहुँचमा पुग्नेछन् । हाल एक्सरे सेवाका लागि नागरिक अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट, रुकुम पश्चिम, दाङ, नेपालगञ्जलगायत जाने गरेका छन् ।

 

दुर्गम ठाउँमा डाक्टर बस्न मान्दैनन्

 

रुकुम पूर्वका दुर्गम ठाउँमा एमबीबीएस डाक्टरले बस्न अस्वीकार गर्ने गरेका छन् । हालका डाक्टरलाई पनि ३ महिनाको करार सम्झौता गरेर मात्र गाउँ बस्न मनाउनु परेको गाउँपालिका अध्यक्ष बुढाले बताए ।

 

३ महिनाको करार सम्झौता सकिएपछि डाक्टरले पुनः करार नियुक्ति थप गर्न चाहे नियुक्त गरिने उनको भनाइ छ । करार डाक्टर दरबन्दी दरखास्त आह्वान गरेकामा कुनैको पनि निवेदन नपरेपछि डा. महतोलाई गाउँपालिकाको सम्पर्कबाटै नियुक्त गरिएको हो ।