close

स्वास्थ्यकर्मी नभएको स्वास्थ्य चौकी

स्वास्थ्यकर्मी नभएको स्वास्थ्य चौकी

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपमा रहेको रिप स्वास्थ्य चौकी १ महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ ।

 

७ जना कर्मचारीको दरबन्दी रहेको स्वास्थ्य चौकीमा ३ जना कर्मचारी भए पनि काम विशेषले जिल्ला बाहिर जाँदा गाउँमा बिरामी पर्नेलाई सास्ती भएको छ । 

 

१ जना इन्चार्ज, १ जना अनमी र कार्यालय सहयोगी गरेर ३ जना कर्मचारी कार्यरत भए पनि सबै आफ्नो निजी कामलाई लिएर अफिसको कामले जिल्ला बाहिर गएको भन्दै पन्छिन खोजेको स्थानीय भीषण कार्कीले बताए ।

 

१ महिनादेखि बन्द रहेको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीसमेत जान छाडेका छन् । 

 

गाउँमा सामान्य बिरामी हुँदा सिटामल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयको गुनासो छ । सेवा लिन स्वास्थ्य चौकी पुगेका बिरामीले ३ महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताउँछन् ।

 

रिप गाउँका स्थानीय बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे तीन घन्टाको पैदल हिँडेरै सर्केगाड स्वास्थ्य चौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सीमकोट पुग्ने गरेका छन् । 


२ नम्बर वडाको रिप गाउँका स्थानीय मात्रै नभएर वडा नम्बर ३ को उनापानी गाउँका सेवाग्रहीले समेत रिप स्वास्थ्य चौकीबाट सेवा लिने हुँदा सो पालिकाका २ वटा वडाका नागरिकलाई थप सास्ती भएको छ ।

 

स्वास्थ्य चौकी इन्चार्ज घर बनाउन सुर्खेत गएका र १ जना अनमी आफ्नै काममा व्यस्त रहेको यहाँका स्थानीयको आरोप छ । 


स्वास्थ्य चौकी इन्चार्ज चन्द्रसिंह कार्कीले भने, ‘म काम विशेषले तराई झरेको हु । अबको १-२ सातामा कार्यक्षेत्रमा फिर्ता हुनेछु । म तराई झरेका बेला स्वास्थ्य चौकीमा कार्यरत अनमीको २ महिने तालिम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको हो ।’