close

अछाममा २१ सय बढीलाई कारोनाविरुद्धको खोप लगाउने लक्ष्य 

अछाममा २१ सय बढीलाई कारोनाविरुद्धको खोप लगाउने लक्ष्य 

Trulli
ADVERTISEMENT

अछाम- देशैभर पहिलो चरणअन्तर्गत दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहअन्तर्गत पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका नागरिकलाई २ देखि ६ फागुनसम्म खोप अभियान सञ्चालन हुने भएको हो । 


अछाममा पनि कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । 

 

जिल्लाभरबाट दोस्रो प्राथमिकतामा रहेका २ हजार १ सय जनाभन्दा बढी लक्षित समूहलाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय अछामले बताएको छ । 


जिल्लाका ३ ठाउँमा खोप केन्द्र स्थापना गरी कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य अधिकृत ढुंगानाका अनुसार जिल्ला अस्पताल मंगलसेन, कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र र बयालपाटा अस्पतालबाट खोप अभियान सञ्चालन गरिनेछ ।

 

२ फागुनमा जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारीलाई जिल्ला अस्पताल अछाममा खोप लगाइनेछ भने ३ फागुनमा मंगलसेन नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, बैंकका कर्मचारी र जिल्लास्थित सञ्चारकर्मीलाई खोप लगाइनेछ । 


४ फागुनमा रामारोशन गाँउपालिकाअन्तर्गतका कर्मचारी, जनप्रतिनिधि, बैंक कर्मचारी तथा शव व्यवस्थापनमा खटिएकालाई खोप लगाइनेछ ।

 

यस्तै, ५ फागुनमा जिल्लास्थित बाँकी रहेका कार्यालयका कर्मचारी र ६ फागुनमा यसअघि पहिलो प्राथमिकतामा र दोस्रो प्राथमिकतामा परेर पनि छुटेकालाई खोप लगाइने स्वास्थ्य कार्यालय अछामले जनाएको छ । 

 

३ फागुनमा बयालपाटा अस्पतालमा साँफेबगर नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाअन्तर्गतका जनप्रतिनिधि, कर्मचारीलगायतलाई खोप लगाइनेछ भने ४ फागुनमा चौरपाटी र मेल्लेख गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिलगायतलाई कोभिड-१९ विरुद्धको खोप लगाइनेछ । 


कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा पनि ३ र ४ फागुनमा कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गरिनेछ । ३ फागुनमा कमलबजार र पञ्चदेवलविनायक नगरका कर्मचारी, जनप्रतिनिधिलगायतलाई खोप दिइनेछ भने ४ फागुनमा तुर्माखाँद तथा ढकारी गाउँपालिकाअन्तर्गतका जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी र बैंक कर्मचारीलाई खोप लगाइने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।