मुगु– नेपाली सेनाको हेलिकोप्टर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नहुँदा एउटी सुत्केरीको अकाल मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका वडा नम्बर ५ नेरकी २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो ।
स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्कन नसक्दा शाही बेहोस भएकी थिइन् । उनको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मुगुले तत्काल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।
भट्टराईले भने, ‘जानकारी आउनेबित्तिकै हामीले हवाई उद्धारका लागि सुरुमा मौखिक र पछि लिखित जानकारी गराएका हौँ । तत्काल हेलिकोप्टर नपुग्दा उनको मृत्यु भयो ।’
नेकपा एमालेका मुगु जिल्ला पार्टी अध्यक्ष धर्मबहादुर शाही सोरुमा फोन नेटवर्कले नटिपेको र शाही बिहीबार बिहान ७ बजे सुत्केरी हँुदा आमाबच्चा सकुशल रहेको बताए । तर, पछि गर्भवती आमाको साल अट्किँदा अत्यधिक रक्तस्राव भएको जानकारी आएको थियो ।
‘माथिल्लो निकायसँग उद्धारका लागि गर्दा सेनाको हेलिकप्टर सुर्खेतसम्म आइपुग्यो भन्ने जानकारी दिइएको थियो । हेलिकोप्टर आउनै लाग्दा गर्भवतीको मृत्यु भइसकेको रहेछ’, उनले भने ।
सेनाको हेलिकोप्टर सुर्खेतमा नभएको जानकारी पाएलगत्तै निजी कम्पनीका हेलिकोप्टरबाट उद्धारको पहल गरिए पनि सफल नभएको शाहीले बताए ।
नाबालक छोरीको विचल्ली
आमा धनलक्ष्मी शाहीको छोरीलाई जन्म दिएर मृत्यु भएपछि नाबालिका छोरीको विचल्ली भएको छ । गर्भवती आमाले सकुशल छोरी जन्माए पनि साल नझर्दा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।
नाबालिका छोरीलाई सोरु गाउँपालिका वडा नम्बर ५ नेरमा आफन्तको जिम्मा लगाइएको छ । विचल्लीमा परेकी नाबालिकाको उद्धारका लागि जिल्ला अस्पताल ठिनी मुगुले पहल गरिरहेको डा. निर्मल नगरकोटीले बताए ।