close

गौमूल बाजुराकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका

गौमूल बाजुराकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको गौमुल गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । ‘खोप लगाऔँ, दिगोपना सुनिश्चित गरौँ’ नाराका साथ गौमूललाई जिल्लामै पहिलो स्थानीय तहका रूपमा गाउँपालिका घोषणा गरिएको हो ।

 

पालिकाभरिका सबै बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको पालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । गाउँपालिकाभरिका ६ वटै वडामा शतप्रतिशत बालबालिकाले खोप पाएका छन् ।

 

कार्यक्रममा जिल्ला समन्वय प्रमुख नरेन्द्रकुमार रोकायाले जीवनसँग स्वास्थ्य जोडिएकाले पहिला व्यक्ति स्वस्थ हुनुपर्नेमा जोड दिए । गौमूल गाउँपालिकाबाट जिल्लाका अन्य स्थानीय तहले पनि सिक्नुपर्ने उनको भनाइ छ । 

 

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जनताका मौलिक हकभित्र खोप पनि पर्ने हुँदा समयमै गाउँपालिकाका सबै वडामा खोप अभियान कार्यान्वयन हुनु सकारात्मक रहेको बताए ।

 

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले स्वास्थ्य क्षेत्रमा गौमूल गाउँपालिकाले ठूलो फड्को मारेको दाबी गरे । 


 
गौमूल गाउँपालिकाका अध्यक्ष रोकायाले पूर्ण खोपयुक्त गाउँपालिका अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भएकाले दिगो राख्न चुनौती रहे पनि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।


 
‘पूर्ण खोपलाई दिगो राख्न स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, बुबा समूह, सञ्चारकर्मी, पालिकाबासी थप जिम्मेवारी हुनुपछ’, उनले भने । 

 

पालिकाका ६ वटै वडा तथा टोलका ९ वटा स्वास्थ्य संस्थाका झन्डै १ सय ८६ बालबालिकाले १ वर्षभित्र ११ प्रकारका रोगविरुद्धको खोप पाएकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गर्न सम्भव भएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले जानकारी दिए ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्त, प्रहरी नायव उपरीक्षक मदनजीत महरा, ६ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, स्थानीयको बाक्लो उपस्थिति थियो ।