close

पूर्वकी सुत्केरीलाई पश्चिमबाट उद्धार

पूर्वकी सुत्केरीलाई पश्चिमबाट उद्धार

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेबाट रुकुम पूर्वकी एक सुत्केरीको उद्धार गरिएको छ । आइतबार रुकुम पूर्व सिस्ने गाउँपालिकाको वडा नम्बर ५ की एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

 

सिस्नेको वडा नम्बर ५ रुमालबारकी २० वर्षीया विमला विकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिए । 

 

विकलाई सुत्केरी व्यथा लागेपछि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा भर्ना गरिएको थियो । सल्ले अस्पतालमा बच्चा जन्म नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको समन्वयमा होलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रजिअ बुढाक्षेत्रीले बताए । 

 

आइतबार बिहान सल्ले अस्पतालमा पुर्‍याइएपछि गर्भ चेकजाँच गर्दा पेटभित्र ७ महिनाको बच्चा मृत रहेको डा. राजकुमार भुजेलले जानकारी दिए । पेटभित्र मृत्यु भएको बच्चालाई महिलाले जन्माउन नसकेपछि सुर्खेत प्रदेश अस्पताल रिफर गरिएको छ । 


बच्चा पेटभित्र मृत्यु भएको जटिल अवस्थासँगै महिलालाई अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत सुर्खेत प्रदेश अस्पताल रिफर गरिएको सल्ले अस्पतालले जनाएको छ । रुकुम पूर्वमा अस्पताल भए पनि अस्पताल सेवा सुविधा नभएपछि रुकुमपूर्वका अधिकांश बिरामीलाई सीधै रुकुम पश्चिमको सल्ले अस्पातलमा पुर्‍याउनुपर्ने बाध्यता छ ।