close

सडक छैन, स्ट्रेचर पाइँदैन, बिरामी बोक्न डोको 

सडक छैन, स्ट्रेचर पाइँदैन, बिरामी बोक्न डोको 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर १ मा स्ट्रेचर नहुँदा कोही बिरामी परे डोको वा मान्छेबाट बोकाएर अस्पताल लैजानुपर्ने बाध्यता स्थानीयलाई छ । 


वडा कार्यालयमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन सास्ती भएको उनीहरुको गुनासो छ । बिरामीलाई पिठ्युँमा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्‍याउने गरेको स्थानीय हिक्मत वडले बताए । बूढीनन्दा नगरपालिका वडा नम्बर १ पिपलडालिका पान्तु सार्कीलाई बोकेर उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएको वडले सुनाए ।


पेट दुखाइको समस्याबाट ग्रसित सार्कीलाई उपचारका लागि कोल्टी लिनुपर्ने भए पनि स्ट्रेचर नहुँदा पिँठ्युमा वोकेर स्वास्थ्य संस्था पुर्याएको उनका श्रीमान शेर सार्कीले बताए ।
 
पेट दुखेर छटपटाई रहेको श्रीमतीलाई उपचारका लागि कोल्टी लिन स्ट्रेचरको खोजी गर्दा नभेटिएको उनले बताए । वडाका स्वास्थ्य संस्थामा औषधि त परको कुरा विरामी वोक्न स्ट्रेचरसमेत नभएको उनले गुनासो गरे । 


स्थानीय सरकार आएपछि सहज बन्ने  आशमा रहेका स्थानीय विरामी हुँदा उपचार त के सामान्य स्टे«चरसम्म नपाएको गुनासो गर्छन् । 


गाउँ टोलमा स्वास्थ्य संस्थाबाटै विरामीलाई सेवा दिनुपर्ने अवस्थामा विरामी वोक्ने स्ट्रेचर नपाउदा डोको तथा पिँठ्युमा राखेर उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने अवस्था जीवितै छ ।

 
पटक पटक सम्वन्धित निकायलाई स्ट्रेचर नभएको जानकारी गराए पनि सुनुवाई नभएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् । 

 

यता बुढीनन्दा नगरपालिकाका स्वास्थ्य सहसंयोजक ओमजंग शाहीले वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर दिने गरिएपनि आवश्यक समयमा उपलब्ध नभएको हुन सक्ने बताए । प्रत्येक वडामा रहेका स्वास्थ्यसेविका सँग एक एक वटा स्टे«चर रहेको उनले बताए ।
 
औषधि किन्ने पैसा पनि छैन
 
बाजुराको बुढिनन्दा नगरपालिका वडा नं १ पिपलडालिका हलिया शेर सार्कीका सबै सदस्य बिरामी परेका छन् । ज्याला मजदुरी गरेर छाक टार्दै आएका शेरको परिवारमा सबै सदस्य बिरामी परेपछि परिवार नै अलपत्र रहेको स्थानीय हिक्मत वडले जानकारी दिए ।
 
शेरकी ८ वर्षीया छोरी इश्वरा सार्की कालाजारको बिरामी छन् भन्ने अन्य सदस्य ज्वरोले थला परेका छन् । घरका सबै सदस्य बिरामी परेको तर औषधि किन्ने पैसा समेत नहुँदा अलपत्र परेको शेर सार्कीले बताए । 


शेरकी श्रीमती कमला सार्की, ३ वर्षको छोरा सस्त सार्की र २ वर्षका छोरा एक सार्कीलाई पनि ज्वरो आउने पेट दुख्ने समस्या छ । 

  
उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा श्रीमती छोरा छोरी बोकेर लिए । पैसा नहुँदा औषधि नकिनेर बिरामी बोकेर घर ल्याएको शेर सार्कीले वताए । शेरले उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेका छन् । 


बाजुरामा कालाजार

 

तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । यो रोग पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । 
 
कोल्टि क्षेत्रमा १ वर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृत्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ वर्षीया भाग्य शाहीको उपचारका क्रममा काठमाडौंको कान्ति वालअस्पतालमा मृत्यु भएको थियो ।