close

सुरक्षित गर्भपतन सेवाबारे बेखबर छन् ग्रामीण क्षेत्रका महिला

सुरक्षित गर्भपतन सेवाबारे बेखबर छन् ग्रामीण क्षेत्रका महिला

Trulli
ADVERTISEMENT

अछाम- सरकारले महिला स्वास्थ्य सेवालाई घरआँगनमै पुर्‍याउने गरी नेपालभरका गाउँटोलमै स्वास्थ्यकर्मी, महिला स्वयंसेविका खटाउँदै आएको छ । 

 

ग्रामीण क्षेत्रमा शिक्षा अभाव, सामाजिक, पारिवारिक झमेलाका कारण छोरी जन्माउने बुहारीले अहिले पनि छोरा नजन्माए धर पाउँदैनन् । सहरी क्षेत्रका शिक्षित बुहारीले छोराछोरी जे भए पनि उतिसारो दबाब भोग्नुपर्दैन । 

 

तर, विकट र सुगम अछामका महिलाले भने सुरक्षित गर्भपतन सेवा भनेको के हो ? अहिलेसम्म बुझेका छैनन् । 

 

साँफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानकी कला वड र ललिता बाब्ली यीमध्येमा पर्छन् । कलाका २ र ललिताका ४ छोरी छन् । दुवै जनाका श्रीमान् कमाउन भारतमा छन् । 

 

छोराको रहर उनीसँगै उनको परिवारलाई पनी छ । ‘छोरो चाहिँदैन तम्लाई भनी सोधिएको प्रश्नमा ललिताले भनिन्, ‘छोरो नभई हुँदैन । चार छो¥याट्टी (स्थानीय भाष) छन्, कान्छी हुन्या नान्कै छे । एक बच्चा त फाल्या । दुःख जति त बैकिनी (महिला) लाई छन् । हाम्रा दुःख कोई बुझ्दैनन् ।’

 

निजी मेडिकलबाट औषधी खाएर गर्भपतन गराएको उनले सुनाइन् । साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटकी गंगा महता भने यसबारे कुनै जानकारी नभएको बताउँछिन् । उनले भनिन्, ‘परिवार नियोजनका विषयमा सुनेकी छु । यो सुरक्षित गर्भपतनबारे आज पहिलो पटक सुनेँ ।’ 


कला, ललिता र गंगा मात्र नभएर अधिकाश ग्रामीण भेगका महिला सुरक्षित गर्भपतनबारे अनभिज्ञ छन् । सुरक्षित गर्भपतन सेवा, असुरक्षित गर्भपतन गर्दा आइपर्ने समस्या र जटिलता, गर्भपतनबारे नयाँ कानुनी व्यवस्थालगायतका विषयमा गाउँ-गाउँमा जनचेतना फैलाउने काम प्रभावकारी रूपमा नभएको देवीस्थान स्वास्थ्य चौकीका इन्चार्ज हिमालय जोशीले बताए । 

 

उनले भने, ‘दुर्गमका महिलालाई यसबारे जानकारी नै छैन । भौतिक संरचनाको अभावमा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । अहिले प्रदेश सरकारको सहयोगमा भवन बन्दै छ । भवन बनेपछि सुरक्षित गर्भपतन सेवा सुरु गर्ने योजना छ ।’

 

जिल्लाका ग्रामीण भेगमा रहेका समुदाय र विद्यालयमा अध्ययनरत किशोर-किशोरीसँग यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाबारे छलफल गरी असुरक्षित गर्भपतन गराउँदा हुने खतरा सम्बन्धमा सचेत गराउनुपर्ने आवश्यकता उनी औँल्याउँछन् ।

 

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार सुरक्षित गर्भपतनबारे अछामका कति प्रतिशत महिला जानकार छन् भन्ने एकिन तथ्यांक छैन । सुरक्षित गर्भपतन सेवाबारे गाउँ-गाउँमा जनचेतना र जानकारी गराउने काम नभएको उनी स्वीकार्छन् ।

 

उनले भने, ‘यो विषयमा सर्भे गरेका छैनौँ । १५ वटा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेका छाैँ । केही संस्था स्वास्थ्यकर्मी नहुँदा बन्द छन् । यसबारे जनचेतना जगाउने र जानकारी दिन स्वास्थ्य कार्यालयसँग छुट्टै कार्यक्रम छैन ।’ 

 

महिलाको स्वीकृतिमा कानुनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । तर, सर्वसुलभ सेवा र सही जानकारी नहुँदा महिलाहरू ज्यानै जोखिममा पारेर असुरक्षित गर्भपतन गराउन बाध्य छन् ।

 

नेपालमा १० असोज २०५९ मा गर्भपतनले कानुनी मान्यता पाएको थियो । नेपाल डेमाेक्‍र्‍याटिक हेल्थ सर्भे (सन् २०१६) का अनुसार नेपालका ५९ प्रतिशत महिलालाई विशेष अवस्थामा गर्भपतन गराउन पाइने कानुनी व्यवस्था भए पनि यसबारे थाहै छैन ।

 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले परिच्छेद ४ मा सुरक्षित गर्भपतनसम्बन्धी व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ सातासम्मको गर्भपतन गराउन सकिने प्रावधान छ ।