close

अर्घाखाँचीका डाक्टरविहीन कोभिड अस्पताल

अर्घाखाँचीका डाक्टरविहीन कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

अर्घाखाँची- अर्घाखाँचीका स्थानीय तहहरूले सञ्चालन गरेको ५ शय्या क्षमताको कोरोना विशेष अस्पतालमा दरबन्दी भए पनि डाक्टर छैनन् । जिल्लाको भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाले डाक्टर नियुक्ति गरे पनि केही दिनपछि राजीनामा दिएका थिए ।

 

डाक्टर आएको केही दिनपछि राजीनामा दिएकाले कोभिड अस्पताल सञ्चालन गर्न सक्ने अवस्था नभएको भूमिकास्थानका नगरप्रमुख रेशम थापाले बताए ।

 

‘कोभिड अस्पतालको बेड र बोर्ड भयो । नियुक्त भएका डाक्टर पनि गए । हामी तलबको व्यवस्थापन गर्न तयार छौँ । डाक्टर खोजिदिनुपर्‍यो,’ जिल्ला स्तरीय कोरोना रोग नियन्त्रण समितिको बैठकमा नगरप्रमुख थापाले भने ।

 

यस्तै, शितगंगा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र छत्रदेव गाउँपालिकामा रहेको बलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा २/२ जना मेडिकल अधिकृतको दरबन्दी भए पनि डाक्टर नभएको छत्रदेवका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । 

 

‘पूर्वाधार छ तर डाक्टर नभएपछि कसरी उपचार गर्ने ? प्रदेश र केन्द्र सरकारले दरबन्दीअनुसारको जनशक्ति व्यवस्थापन गर्न सक्ने हो भने कोभिड–१९ विशेष अस्पताल सञ्चालन गर्न सकिने अवस्था छ । डाक्टरबिना बिरामीको उपचार गर्न गाह्रो छ,’ पोख्रेलले भने ।


अर्घाखाँची अस्पतालको आईसियु निर्माणाधीन

 

अर्घाखाँचीको ५० शय्याको एक मात्र सरकारी जिल्ला अस्पतालमा १० शय्याको आईसियु निर्माणाधीन अवस्थामा छ । अस्पतालमा आईसियु निर्माण भए पनि सञ्चालन गर्ने जनशक्ति अभाव रहेको अर्घाखाँची अस्पतालका मेडिकल अधिकृत अमृत भट्टराईले बताए ।

 

‘जिल्ला अस्पतालमा आईसियु निर्माणको अन्तिम चरणमा छ । आईसियु सञ्चालनका लागि विज्ञ टोली चाहिन्छ । अहिलेको जनशक्तिले आईसियु सञ्चालन गर्न सक्ने अवस्था छैन,’ भट्टराईले भने ।

 

अस्पतालका लागि अक्सिजनसमेत पर्याप्त छैन । कोभिड-१९ का बिरामीका लागि सञ्चालन गरिएको ६ शय्याको आइसोलेसनमा ६ वटा अक्सिजन सिलिन्डर छन् भने आईसियुका लागि १० वटा सिलिन्डर छन् ।

 

मालारानीका सम्पूर्ण विद्यालय बन्द 
 

अर्घाखाँचीको मालारानी गाउँपालिकाले कोरोना संक्रमणका कारण सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । एसईईबाहेकका अन्य कक्षाका परीक्षा विद्यालयले आन्तरिक मूल्यांकनबाट अन्तिम नतिजा प्रकाशित गरिने गाउँ कार्यपालिकाले निर्णय गरेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

 

‘पछिल्लो समय गाउँपालिकाभित्र भारत तथा तेस्रो मुलुकबाट आउनेको संख्या बढ्दो क्रममा छ । सोही कारण विद्यालय तत्काल बन्द गर्ने निर्णय गरेका हौँ,’ आचार्यले भने ।

 

अर्घाखाँचीमा हाल कोरोना भाइरसका सक्रिय संक्रमित २५ जना छन् भने अहिले सम्म कोरोनाका कारण १६ जनाले ज्यान गुमाएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए । अर्घाखाँचीमा अहिलेसम्म ८३० जना संक्रमित भएका छन् । यीमध्ये ७८८ जनाले कोरोनालाई जितेका छन् ।