close

भारत-नेपाल सीमाको त्रिवेणी नाका बन्द गरियाे

भारत-नेपाल सीमाको त्रिवेणी नाका बन्द गरियाे

Trulli
ADVERTISEMENT

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको नवलपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिनासाथ बन्द भएर खुलेको भारतसँग सीमा जोडिएको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि पुनः बन्द गरिएको छ ।


भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रवेश निषेध गरिएको छ । खुला सीमाका कारण हुने अवैध आउजा बन्द गरिएको नवलपुर प्रशासनले जनाएको छ ।

 

अस्पतालको अवस्था र पूर्वतयारी

 

पूर्वी नवलपरासीमा पछिल्लो १ सातामै कोभिड-१९ का संक्रमितको दर बढ्न थालेपछि बिरामी राख्ने अस्पतालको तयारी तीव्र पारिएको छ ।

 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष र ६ बेडको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ ।

 

त्यसैगरी जिल्ला अस्पतालमै थप १२ बेडको आइसोलशन कक्ष तयार भइरहेको छ ।

 

सोमबार बसेको नवलपुर जिल्ला स्तरको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभित्रको पालिका स्तरका सबै अस्पतालाई कम्तीमा ५ देखि १० बेडको आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिइएको छ ।

 

छिमेकी चितवनका अस्पताल भरिभराउ हुन थालेपछि नवलपुरमै आइसियु कक्ष स्थापना गर्नुपर्ने बाध्यता आइलागेको हो ।


 
पिसिआर परीक्षण


गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरका जिल्ला अस्पतालमा स्वाब परीक्षणका लागि पिसिआर मेसिन राखिएपछि नवलपुरका यस पटक स्वाब संकलन र परीक्षणमा समस्या नहुने देखिएको छ ।

 

जिल्लामा दैनिक ३ सय जनासम्मको स्वाब परीक्षण गर्न सकिनेछ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईंका अनुसार जिल्ला अस्पतालमा रहेको पिसिआर मेसिनमा १ पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिनेछ भने कर्मचारी पर्याप्त भए दैनिक ३ पटक सम्म गरी ३ सय हाराहारी दैनिक स्वाब परीक्षण गर्न सकिनेछ ।

 

नवलपुरमा सक्रिय संक्रमित ५० नाघ्यो 

 

पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ५० नाघेको छ । पूर्वी नवलपरासीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

 

तीमध्ये २ जना मध्यबिन्दु जिल्ला अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् । सोमबार २ जना थपिएसँगै नवलपुरमा सक्रिय संक्रमितको संख्या ५७ पुगेको हो ।


 
राती ९ बजेपछि होटल तथा बजार बन्द

 

नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सोमबार बसेको जिल्ला स्तरको विपद् व्यवथापन समितिले सोमबारदेखि राती ९ बजेदेखि होटल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।


नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सोमबारदेखि नवलपुरका सबै होटल तथा बजार व्यवसाय राती ९ बजेदेखि बन्द गर्ने निर्णय गरिएको छ ।


 
देवचुलीका विद्यालय बन्द
 
संक्रमणको त्रास बढ्दै गएपछि पूर्वी नवलपरासीको देवचुली नगरपालिकाभित्रका विद्यालय पनि मंगलबारदेखि बन्द भएका छन् ।


देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठका अनुसार २० वैशाखदेखि हुने विद्यालय स्तरको वार्षिक परीक्षाको तयारी र कोभिडबाट बालबालिकालाई बचाउन मंगलबारदेखि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो ।


 
गैडाकोटका शैक्षिक संस्था १५ दिनका लागि बन्द
 
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाका शैक्षिक संस्था १५ दिनका लागि बन्द गरिएको छ । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलका अनुसार मंगलबारदेखि २८ वैशाखसम्मका लागि नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।
 
विनयी त्रिवेणीमा पनि विद्यालय बन्द
 
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका विद्यालय पनि मंगलबारदेखि बन्द गरिएको छ ।


विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीका अनुसार अर्को सूचना जारी नहुन्जेलसम्म गाउँपालिकाभित्रका विद्यालय बन्द गरिएको हो ।


२० वैशाखदेखि विद्यालय स्तरको वार्षिक परीक्षा हुने भए पनि स्थिति सामान्य रहे परीक्षा गर्ने तर अवस्था जटिल बन्दै गए परीक्षासमेत स्थगित गर्न सकिने गरी बन्द गरिएको जिसीले बताए ।