close

टोल निगरानी समूह बनाएर कोरोना संक्रमित खोज्दै पाथीभरा याङ्बरक 

टोल निगरानी समूह बनाएर कोरोना संक्रमित खोज्दै पाथीभरा याङ्बरक 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोरोना संक्रमणबारे वास्तविक सूचना लिन र टोल स्तरबाटै संक्रमण न्यूनीकरणका विकल्प खोज्न ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले टोल निगरानी समूह गठन गर्न थालेको छ ।

 

टोल निरागानी समूहमार्फत पालिकाभरि भएका, देखिएका कोरोना संक्रमितको सूचना लिने र न्यूनीकरणका उपाय समुदायका प्रत्येक सदस्यसम्म प्रवाह गर्ने उद्देश्यले निगरानी समूह गठन गर्न थालिएको पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए । 

 

टोल निगारानी समूहमार्फत टोलभरिका कुनै व्यक्तिबारे पालिकाले सूचना लिनेछ । नयाँ मान्छे टोलमा प्रवेश गरे, कसैलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए वा संक्रमणसँग सम्बन्धित कुनै समस्या देखापरे टोल निगारानी समूहले गाउँपालिकालाई जानकारी गराउनेछ ।

 

सोही जानकारीका आधारमा संक्रमणविरुद्धका सबै उपायका लागि जनशक्ति परिचालन र अधिकतम सूचना प्राप्त हुने भएकाले समस्या समाधान गर्न सहज हुने विश्वासका साथ टोल निगरानी समूह गठन प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष सुब्बाले जानकारी दिए । 


साविकका ६ वटा गाविस क्रमशः नाङ्खोल्याङ, थेचम्बु, तिरिंगे, डुम्रिसे, चाक्सिबोटे र थुम्बेदिनमा टोल निगरानी समूह गठन गरिनेछ ।

 

प्रत्येक वडामा ९ वटाका दरले ५४ वटा टोल निगारानी समूह गठन गरिने पालिका अध्यक्ष सुब्बाले बताए । साविकका प्रत्येक गाविसका साविकका प्रत्येक वडालाई १ वटा टोल निगारानी समूहको कार्यक्षेत्रको रूपमा लिइएको छ । 

 

पाथीभरा याङ्बरकले बनाएको टोल निरागानी समूहको अभ्यास यसअघि सिरिजंघा गाउँपालिकाले टोल विकास संस्थाको रूपमा विकास गरी प्रयोग गर्दै आएको छ ।

 

८ वटा वडा रहेको सिरिजंघा गाउँपालिकाले साविकका प्रत्येक गाविसमा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था गठन गरेको छ । सिरिजंघाले गठन गरेको टोल विकास संस्था भने ऐनले व्यवस्था गरेको र स्थायी प्रकृतिको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।