close

प्रादेशिक अस्पतालमा बेड अभाव हुँदा कोरोना संक्रमितको ज्यान गयो 

प्रादेशिक अस्पतालमा बेड अभाव हुँदा कोरोना संक्रमितको ज्यान गयो 

Trulli
ADVERTISEMENT

अर्घाखाँची- प्रादेशिक अस्पताल बुटवलमा बेड अभावमा उपचार गर्न नपाउँदा अर्घाखाँचीका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर ७ का ६० वर्षीय रामप्रसाद भुसालको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

 

रोजगारीको सिलसिलामा भारत गएका उनी गत २९ चैतमा घर आएका थिए । भारतबाट आएको केही दिनपछि उनलाई ज्वरो आएको थियो । अस्वस्थ भएपछि ८ वैशाखमा उपचारका लागि बुटवल लुम्बिनी अस्पतालमा लगिएको थियो ।

 

८ वैशाखमा स्वाब जाँच गराएका उनको ९ वैशाखमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि लुम्बिनी अस्पतालमा उपचारका लागि बेड नहुँदा उनलाई पुःन घर ल्याइएको थियो ।

 

थप स्वास्थ्य बिग्रिँदै गएपछि भुसाललाई मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । उनको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले जानकारी दिए ।


संक्रमितसँगको सम्पर्कमा आएकाहरूको कन्ट्याक ट्रेसिङ छैन 

 

अर्घाखाँचीमा अहिले कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ४९ जना रहेको छ । तर, संक्रमितसँग सम्पर्कमा आएकाहरूको कोराना परीक्षण भएको छैन ।

 

जिल्लामा एन्टिजेन्ट किट नभएका कारण संक्रमितको सम्पर्कमा आएकाहरूको परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाले बताइन् । ‘हामीले एन्टिजेन्ट किट माग गरे पनि अहिलेसम्म प्राप्त भएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरूको जाँच गर्न गाह्रो भएको छ ।’

 

अहिलेसम्म कोरोनाका कारण १९ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । अर्घाखाँचीमा अहिलेसम्म ९ सय १५ जना संक्रमित भएका छन् ।

यीमध्ये ७ सय ८८ जनाले कोरोनालाई जितेका छन् । 

 

कोभिड अस्पतालमा डाक्टर नहुँदाको सास्ती


अर्घाखाँचीका स्थानीय तहहरूले सञ्चालन गरेको ५ बेडको कोरोना विशेष अस्पतालमा दरबन्दीअनुसार डाक्टर छैनन् । भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाले डाक्टर नियुक्ति गरे पनि केही दिनपछि राजीनामा दिएका छन् । ‘डाक्टर आएको केही दिनपछि राजीनामा दिए । अब कोभिड अस्पताल सञ्चालन गर्न सक्ने अवस्था छैन’, भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले भने, ‘कोभिड अस्पतालको बेड र बोर्ड भयो । नियुक्त भएका डाक्टर गए । कसरी ल्याउने भन्ने समस्या छ ।’

 

जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकमा नगरप्रमुख थापाले स्थानीय सरकारले विकास बजेट काटेर स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रयास भए पनि डाक्टर पाउन नसकिएको गुनासो गरे । 

 

शितगंगा नगरपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र र छत्रदेव गाउँपालिकामा रहेको बलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा २/२ जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि डाक्टर नभएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

 

‘पूर्वाधार छ तर डाक्टर नभएपछि कसरी उपचार गर्ने ? प्रदेश र केन्द्र सरकारले दरबन्दीअनुसारको जनशक्ति व्यवस्थापन गरे कोभिड विशेष अस्पताल सञ्चालन गर्न सकिने अवस्था थियो । डाक्टरबिना बिरामीको उपचार गर्न गाह्रो छ । स्थिति नियन्त्रणभन्दा बाहिर जाने देखिन्छ ।’


अर्घाखाँचीको सरकारी क्षेत्रको एक मात्र ५० शय्याको जिल्ला अस्पतालमा १० बेडको आइसियु निर्माणाधीन अवस्थामा छ । अस्पतालमा आइसियु निर्माण भए पनि जनशक्तिको अभाब रहेको अर्घाखाँची अस्पतालका मेडिकल अधिकृत अमृत भट्टराईले बताए ।