close

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र बन्याे डाक्टरविहीन 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र बन्याे डाक्टरविहीन 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुनः डाक्टरविहीन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर राजुराज जैशी गएपछि स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो ।

 

करिब १ वर्षदेखि दुर्गम क्षेत्र कोल्टीमा रहेर सेवा दिँदै आएका डा. जैशी सोमबार बिदाइ भएर गएका छन् । दुर्गम क्षेत्रमा बसेर नागरिकको सेवामा समर्पित जैशीको १ वर्षे कार्यकाल सकिएपछि बाजुराबाट बिदाइ भएर गएको स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।
 


सरकारी छात्रवृत्तिमा अध्ययनरत स्वास्थ्यकर्मीले २ वर्ष अनिवार्य दुर्गममा रहेर सेवा दिनुपर्ने सरकारको प्रावधान छ । सोही नीतिअनुरूप दुर्गम क्षेत्रमा रहेर सेवा दिएका डा. जैशीको कार्यावधि सकिएकाले बिदाइ भएर गएको जनस्वास्थ्य निरीक्षक ओमजंग शाहीले जानकारी दिए ।

 

२ वर्षका लागि बाजुरा आएका डा. जैशीले १ वर्ष जिल्ला अस्पताल बाजुरा र १ वर्ष प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सेवा दिएका थिए । बाजुराको करिब २ वर्षे बसाइपछि जैशीकोे कार्यावधि सकिएको हो ।


 
डा. जैशीले कोल्टी छाडेर गएपछि प्राथमिक स्वास्थ्य केन्द्र अहिले पुरानै अवस्थामा फर्किएको छ । अर्काे डाक्टर आउने-नआउने टुंगो छैन । यसअघि डाक्टरविहीन बनेको करिब १ वर्षपछि कोल्टीले डाक्टर पाएको थियो । 

 

सामान्यबाहेक अन्य जटिल खाले उपचारका लागि सुविधासम्पन्न ठाउँमा जानुपर्ने बाध्यता भोग्दै आएका स्थानीयलाई बिरामी हुँदा के गर्ने भन्ने चिन्ताले सताएको छ । बाजुरालगायत हुम्ला, कालीकोट र मुगुका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले अब कहिले डाक्टर पाउने हो, अन्योल छ । 

 

जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा १२ जनाको दरबन्दी छ । १ जना मेडिकल अधिकृत, १ जना हेल्थ असिस्टेन्ट, १ जना स्टाफ नर्स, ३ जना अनमी, ३ जना अहेब, १ जना ल्याब असिस्टेन्ट र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेको उनले जानकारी दिए ।

 

अहिले स्वास्थ्य कार्यालयमा ३ जनाको दरबन्दी खाली छ । अन्य दरबन्दी परिपूर्ति भए पनि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट र स्टाफ नर्सको दरबन्दी खाली रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।

 

स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहँुदा सेवा प्रवाहामा समस्या देखिएको छ । हाल दैनिक ८० देखि ९० जनासम्म सेवाग्राही आउने स्वास्थ्य केन्द्र अहिले अहेब र अनमीबाट चलिरहेको छ । स्थानीय सरकारले दरबन्दीअनुसारका स्वास्थ्यकर्मी व्यवस्थापनमा पहल गरी स्वास्थ्य सेवालाई मजबुत बनाउनुपर्ने अवस्थामा उल्टै बेखर बनेको नागरिकको गुनासो छ ।
 


कोरोना महामारीको बेलान १ जना चिकित्सक अनिवार्य गर्नुपर्ने भए पनि बूढीनन्दा नगरपालिकाले रिक्त दरबन्दीसमेत पदपूर्ति गर्न सकेको छैन । अहिले स्वास्थ्य केन्द्र कोल्टीमा सामान्य उपचारको सेवा दिइँदै आए पनि जटिल खाले बिरामीको उपचार गर्ने डाक्टर अभाव भएको छ ।