close

बयलपाटा अस्पतालमा कोरोना संक्रमितको सफल शल्यक्रिया

बयलपाटा अस्पतालमा कोरोना संक्रमितको सफल शल्यक्रिया

Trulli
ADVERTISEMENT

अछाम- अछामको बयालपाटा अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार हुन थालेको छ । अस्पतालले हाल अछाम, बाजुरा, डोटीलगायत सुदूरपश्चिम र कर्णालीसमेतका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिइरहेको छ । 


सरकारले कोभिड विशेष अस्पताल नतोके पनि जिल्लाबाट उपचारका लागि आएका बिरामीलाई कोरोना संक्रमण भएपछि यही राखेर उपचार भइरहेको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दीप पाठकले बताए । 

 

‘अन्य उपचारका लागि बिरामी अस्पताल आउँछन् तर लक्षण हेर्दा कोरोनासँग मिल्दोजुल्दो हुन्छ’, डा. पाठकले भने, ‘उनीहरूको एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि हुन्छ । तिनलाई अस्पतालमै आइसोलेसन बनाएर उपचार गरिरहेका छौँ ।’ 

 

केही दिन पहिले मात्र डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का ४७ वर्षीय पुरुष बिरामीको खुट्टाको सफल शल्यक्रिया भएको छ । उनी खुट्टामा घाउ पाकेपछि उपचारका लागि बयालपाटा अस्पताल पुगेका थिए । 

 

उनको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिए पनि डा. पाठकको टोलीले सफल शल्यक्रिया गरेको हो । ‘उनको खुट्टामा संक्रमण फैलिएर रक्तनली बन्द भई खुट्टा मरिसकेको अवस्थामा थियो’, डा. पाठकले भने, ‘हामीले जोखिम मोलेरै शल्यक्रिया गर्‍यौँ ।

 

छुट्टै अपरेसन कक्ष बनाएर उनको शल्यक्रिया गरिएको र हाल आइसोलेसनमा राखेर उपचार भइरहेको डा. पाठकले जानकारी दिए । बिरामी डोटीबाट उपचारकै लागि अछाम पुगेका थिए । 

 

हाल कोरोना संक्रमण बढेपछि अस्पतालमा बहिरंग सेवा बन्द भए पनि फिबर क्लिनिक, आकस्मिक र अन्तरंग सेवा भने यथावत् छ । अस्पतालले आकस्मिक सेवासँगै कोरोना बिरामीको पनि उपचार गरिरहेको छ । 

 

अस्पतालमा हाल १० जना कर्मचारीसँगै ४ जना कोरोना संक्रमित र ३ जना शंकास्पद बिरामीको उपचार भइरहेको छ । 


सुदूरपश्चिमका बयालपाटा र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन प्लान्ट 

 

कोरोना संक्रमणका कारण यतिबेला अस्पतालका शय्या बिरामीले भरिभराउ छन् । नयाँ संक्रमितका लागि बेड पाउन हम्मे परिरहेको छ । उपचारमा अक्सिजनको मात्रा कम भएका बिरामीका लागि नियमित अक्सिजन दिनुपर्छ ।

 

तर, सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका २ अस्पतालबाहेक अन्यत्र आफ्नै अक्सिजन प्लान्ट छैन । यसले गर्दा उपचारमा कठिनाइ भइरहेको छ ।

 

‘बयालपाटा अस्पतालमा आउने बिरामीका लागि आफ्नै अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन प्रयोग गर्छौं’, अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दीप पाठकले भने, ‘जसले गर्दा यहाँ आउने बिरामीलाई सहज भएको छ ।’

 

कोभिड बिरामीकै लागि छुट्टै अक्सिजन प्लान्ट नभए पनि अस्पताल आउने बिरामीलाई अक्सिजनकै लागि रेफर गर्नुपर्ने अवस्था नरहेको उनले बताए । अक्सिजन प्लान्ट अस्पतालको आकस्मिक कक्ष, अन्तरंग विभाग र शल्यक्रिया भवनमा मात्रै रहेकाले अक्सिजन सिलिन्डर भरेर अन्यन्त्र पठाउनुपर्ने अवस्था नरहेको डा. पाठकको भनाइ छ ।

 

यस्तै, डडेलधुरा अस्पतालमा पनि आफ्नै अक्सिजन प्लान्ट छ । बिरामीका लागि आवश्यक अक्सिजन अस्पतालबाटै प्रयोग गर्न सकिने व्यवस्था छ ।