close

बाजुराका ५ स्थानीय तहले पाएनन् डाक्टर: नर्सको भरमा कोभिड अस्पताल

बाजुराका ५ स्थानीय तहले पाएनन् डाक्टर: नर्सको भरमा कोभिड अस्पताल

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । छिमेकी भारत र देशका विभिन्न सहहबाट युवाहरू गाउँ आउन थालेपछि कोरोना संक्रमणको जोखिम उच्च भएको हो ।

 

कोरोना महामारीमा चिकित्सकसहितको स्वास्थ्यकर्मी राखेर कोभिड अस्पताल सञ्चालन गर्न निर्देशन दिइए पनि बाजुराका ५ वटा स्थानीय तहले भने डाक्टर पाउनै सकेका छैनन् । 

 

स्थानीय तहमा कोभिड अस्पताल सञ्चालन गरिए पनि डाक्टर नपाएपछि स्टाफ नर्सको भरमा चलिरहेका छन् । अस्पतालमा चिकित्सक नहुँदा नर्सले नै सेवा दिने गरेका स्थानीय तहका प्रमुखहरूले स्वीकारेका छन् । 

 

हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, बूढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकामा हालसम्म चिकित्सक नहुँदा स्टाफ नर्सले नै सेवा दिँदै आएका हुन् ।

 

स्थानीय तहले सञ्चालन गरेका कोभिड अस्पतालमा ५ देखि १० बेडका आइसोलेसन कक्ष निर्माण गरिएका छन् । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएकाले उपचारका लागि आइसोलेसन निर्माण गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

 

गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनका लागि संघीय र प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट आए पनि चिकित्सकका लागि पटक-पटक आह्वान गर्दासमेत दरखास्त नआएकाले स्टाफ नर्सको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।


 
कोभिड अस्पताल निर्माणपछि चिकित्सकको खोजी गर्दा पनि नपाएकाले गाउँपालिकाले स्टाफ नर्स भर्ना गरेर उनीहरूले सेवा दिँदै आएको अध्यक्ष मल्लको भनाइ छ । गाउँपालिकामा २० शय्याको अस्पताल निर्माण गरिएको उनले बताए ।
 
खप्तड छेडेदह गाउँपालिकामा ५ शय्याको कोभिड अस्पतालमा आइसोलेसन निर्माण गरिएको छ भने त्रिवेणी नगरपालिकामा ६ शैप्याको आइसालेसन, बूढीनन्दा नगरपालिकामा ५ शय्याको आइसोलेसन निर्माण भएको पालिकाले जनाएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा पनि ५ शय्याको आइसोलेसनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको पालिकाले बताएको छ ।
 
भौगोलिक विकटताका कारण जिल्लामा मेडिकल अधिकृतसहितका चिकित्सक राख्ने गरी बजेट स्थानीय तहमा पठाइए  पनि चिकित्सकका लागि प्रयास गर्दासमेत कसैले आउन नमानेकाले कोभिड अस्पताल स्टाफ नर्सको भरमा सञ्चालन गर्नुपर्ने अवस्था छ ।

 

स्थानीय तहले चिकित्सकको दरखास्तका लागि पटक-पटक विज्ञापन गर्दासमेत कसैको दरखास्त नपरेपछि स्टाफ नर्सको भरमा कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । बाजुराका ३ वटा स्थानीय तहमा भने चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा छन् ।


 

बूढीगंगा नगरपालिका, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकाले चिकित्सकसहित कोभिड अस्पताल सञ्चालन गरिरहेका हुन् । यी तीन वटा तहले कोरोना महामारीका लागि मात्र नभई गाउँपालिकाले समेत आर्थिक खर्च बेहोर्ने गरी चिकित्सक ल्याएका छन् । कोभिड अस्पताल सञ्चालन भएको बूढीगंगामा ३० शय्याको आइसोलेसन निर्माण गरिएको छ ।


 
यस्तै, गौमुल गाउँपालिकामा १५ र जगन्नाथ गाउँपालिकामा १५ शय्याको आइसोलेसन कक्ष बनाइएको छ । बूढीगंगाले टाँटे स्वास्थ्य चौकीमा ३० शय्या, ब्रह्मतोला स्वास्थ्य चौकीमा ५ शय्या र देवलसैन स्वास्थ्य चौकी बाह्रबिसमा ५ शय्याको आइसोलेसन बनाएको नगरप्रमुख दीपक विक्रम शाहले बताए ।

 

गौमूलले घटमुना र जगन्नाथ गाउँपालिकाले जुड्डीमा १५/१५ शय्याको आइसोलेसन बनाएको गाउँपालिकाले जनाएका छन् । कोरोना महामारीको संक्रमण भएर उपचारमा समस्या भएकाहरूलाई जिल्ला अस्पताल बाजुरामा भेन्टिलेटर र अक्सिजनसहितको आइसोलेसन बनाइएको छ ।