close

अनुदानका बेड स्टोरमा थन्किएः अस्पतालका बिरामी भुइँमै

अनुदानका बेड स्टोरमा थन्किएः अस्पतालका बिरामी भुइँमै

Trulli
ADVERTISEMENT

बागलुङ- सरकारले गत वर्षको बजेटमै धौलागिरि अस्पताललाई २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । तर, अहिलेसम्म उक्त घोषणा कार्यान्वयनमा आएको छैन ।


मन्त्रालय तहबाट झन्डै १०० बेड अस्पतालका लागि आइसकेका छन् । ती बेड अस्पतालको स्टोरमा थन्किएका छन् । अहिले अस्पतालमा धेरै बिरामी आउँदा बेड नपाएर फर्कनुपरेको छ । अधिकांश घरघरमै छन् ।

 

यसमा बेड जडान नहुनु मात्रै नभएर अस्पतालको भवन बनिनसक्नु प्रमुख कारण देखिएको छ । धौलागिरि अस्पतालको आइसोलेसनमा आउन दैनिक कोरोना संक्रमितका आफन्तले खोजी गरे पनि ठाउँ नपाएर फर्केका छन् ।

 

काठमाडौंमा बेड नपाएर यहाँ आइरहेकाले अस्पताल भरिभराउ छ । शनिबार अस्पतालमा २८ जना जटिल समस्या भएका संक्रमित छन् भने अरू सबै घर-घरमा बसेका छन् ।

 

सीमित बेडमा जटिल समस्या भएकालाई मात्रै राखेर उपचार गर्नु परेपछि सामान्य बिरामीलाई घरमै बस्न लगाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

 

निर्माणाधीन ‘सि ब्लक’ अलपत्र परेकाले ती बेड जडान गर्न नसकिएको हो । बेड स्टोरमा थन्किँदा बिरामी भने घरमा बस्न बाध्य छन् । 

 

६ वर्षअघि सकिनुपर्ने अस्पताल अलपत्रै परेपछि ल्याइएका बेड स्टोरमा थन्क्याउनुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । बेड स्टोरभित्रै माकुराको जालोले घेरिएको रानाको भनाइ ।

 

निर्माणाधीन भवनको भुइँतला वा छतमा व्यवस्थापन गरेर बेड राख्न खोज्दा लाखौँ खर्च लाग्ने भएपछि छाडेको उनले बताए ।

 

‘ठेकेदारलाई पटक-पटक सम्पर्क गरिए पनि काम अलपत्र भइरहेको छ ६ वर्षअघि सक्ने गरी मिलेनियम बिल्डर्स निर्माण सेवाले भवनको ठेक्का लिए पनि अहिलेसम्म काम सकिएन’, रानाले भने ।

 

अघिल्लो वर्ष अस्पताल व्यवस्थापनले हस्तान्तरण नभएको बी ब्लक आफ्नै खर्चमा मर्मत गरेर चलाएको थियो । सी ब्लकका लागि भने लाखौँ खर्चिनुपर्ने भएपछि व्यवस्थापनले हस्तक्षेपसमेत गर्न नसकेको रानाले बताए । 

 

धौलागिरि अस्पतालमा अहिले ५० बेड मात्रै छन् । ती पनि सबै आइसोलेसन होइनन् । ‘ठेकेदारले नयाँ भवन हस्तान्तरण नगरेसम्म स्टोर पनि खाली गर्न नसकिने भयो,’ डा. पोखरेलले भने, ‘जटिल बिरामीलाई समेत बेड अभाव छ । आइसोलेसन बढाउने योजना पूरा गर्न सकिएन ।’ 


बागलुङमा शनिबारसम्म ३ सय १७ बढी सक्रिय संक्रमित छन् । तीमध्ये अधिकांश होम आइसोलेसनमा छन् । समस्या परेर आउन खोज्नेलाई समेत बेड नभएर घरमै बस्न भनिएको उनले जानकारी दिए ।

 

अस्पतालमा प्रसूति, डायलायसिस, दन्त सेवा, ल्याबलगायतका लागि झन्डै २५ बेड चाहिन्छ । प्रयोगमा ल्याउन नपाएर वार्डमा पनि चाहेजति बिरामी राख्न नसकेको पोखरेलले गुनासो गरे ।

 

‘संक्रमणको जोखिमका बेला वार्ड साँघुरा भएका छन्, त्यसैले राख्नैपर्ने कतिपय बिरामी फिर्ता गर्नुपरेको छ,’ पोखरेलले भने, ‘अक्सिजन विस्तार गर्न पनि पाइएको छैन ।’ 

 

अक्सिजन प्लान्ट भए पनि सी ब्लक नबनेपछि विस्तार गर्न नसकेको उनले बताए । सर्भिसिङ नियमित गरे १ सय बढी बेडमा नियमित अक्सिजन दिने गरी प्लान्ट निर्माण भएको हो ।