close

फोहोर फाल्ने टिपरले बोक्छ कोरोना संक्रमितको शव 

फोहोर फाल्ने टिपरले बोक्छ कोरोना संक्रमितको शव 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा शव वाहन नहुँदा कोरोनाबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिपर र यात्रुवाहक जिपमा बोकेर लग्ने गरिएको छ । जिल्लाभर शव वाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिपरले शव बोक्ने गरेको हो । केही दिन पहिला नगरपालिको यात्रु बोक्ने जिप भाडामा लगेपछि अहिले उसैले शव बोकेर घाटसम्म पुर्‍याउने गरेको छ । 

 

बाजुरामा कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । बाजुरा अस्पतालले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र गाडीमा शव बोक्नुपरेको बडिमालिका नगरपालिकाले जनाएको छ ।
 

जिल्ला अस्पताल बाजुराले आर्थिक वर्ष २०७६/७७ मा शव वाहन खरिदका लागि आएको रकम खरिद गर्न नसकेर फिर्ता गएको थियो । यो आर्थिक वर्षको साउनमै शव वाहन र एम्बुलेन्स खरिदका लागि १५ लाख रुपैयाँका दरले प्रदेश सरकारले पैसा पठाए पनि अहिलेसम्म खरिद प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन ।

 

जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडीमा शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामीले समस्या भोग्नु परेको छ । जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डा. प्रकाश जोशीले शव वाहन नहुँदा निकै समस्या भएको सुनाए ।

 

‘गत आर्थिक वर्ष एम्बुलेन्स र शव वाहन खरिदका लागि बजेट आएको थियो । खरिद गर्न नसकेर रकम फिर्ता भएको छ’, डा. जोशीले भने, ‘यो वर्ष पनि एम्बुलेन्स र शव वाहन खरिदका लागि बजेट आएको छ । बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेका छौँ ।’

 

एम्बुलेन्स र शव वाहन खरिदका लागि १५ लाख रुपैयाँका दरले बजेट आए पनि त्यो कार्यान्वयन नभएको पाइएको छ । खरिद प्रक्रियामा गएकाले १/२ महिना समय लाग्ने देखिएको छ । पहिला प्रक्रियामा गएको भए चाँडै जिल्ला अस्पतालमा शव वाहन र एम्बुलेन्स आइ सक्थ्यो । अहिले प्रक्रियामा जाँदा थप समय लाग्ने देखिएको डा. जोशीको भनाइ छ । 

 

जिल्ला अस्पतालमा एम्बुलेन्स र शव वाहनका लागि बजेट आएर पनि खरिद नहुनुले बिरामीले सास्ती भोग्नु परेको छ । आएको बजेट पनि कार्यान्वयन गर्न नसक्ने अस्पतालप्रति स्थानीयको गुनासो छ । एम्बुलेन्स र गाडी नहुँदा कोरोनाका बिरामीले सास्ती भोग्नु परेको छ । मरेको लाश पनि फोहोर बोक्ने गाडीमा लैजानुपर्दा पीडाबोध हुने गरेको कोरोना मृतकका आफन्तको गुनासो छ ।


 
कोरोना संक्रमतिले घरबाट जिल्ला अस्पतालमा उपचारका लागि जान र तथा अस्पतालले थप उपचारका लागि जिल्लाबाहिर लैजान खोजे पनि गाडी नपाउने समस्या छ । ‘अन्य बिरामीलाई निजी जिपले बोक्ने गरेका छन् । कोरोना बिरामीका लागि भने गाडी पाइँदैन’, बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्का भन्छन् ।

 

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी पनि सदरमुकाम मार्तडीमै एउटा शव वाहन नहुँदा निकै समस्या देखिएको बताउँछन् । उनले भने, ‘अहिले बडिमालिका नगरपालिकाले निजी गाडी भाडामा लिएको छ । तत्काल एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गरिनेछ ।’