close

कोरोनासँग जुध्न बागलुङका १० पालिकाको संयुक्त कोष

कोरोनासँग जुध्न बागलुङका १० पालिकाको संयुक्त कोष

Trulli
ADVERTISEMENT

बागलुङ– कोरोना महामारीसँग जुध्न बागलुङका १० वटै स्थानीय तहले साझा कार्यक्रम ल्याउने भएका छन् । स्वास्थ्य सामग्री खरिद, अक्सिजन एवं जनशक्ति व्यवस्थापन र मृतकको शव व्यवस्थापनलगायत काम यहाँका १० वटै स्थानीय तहको सहभागितामा हुने भएको हो ।

 

आइतबार भर्चुअल माध्यमबाट बसेको १० वटै स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको बैठकले ५५ लाख रुपैयाँको साझा कोष निर्माणको घोषणा गरेका हुन् । 

 

सोही कोषको परिचालनबाट स्वास्थ्य सामग्री, जनशक्ति र उपचारका क्रममा मृत्यु हुनेको दाहसंस्कार गरिने भएको हो । कोषको रकम अक्सिजन ढुवानी र व्यवस्थापनको काममा समेत खर्च हुनेछ ।

 

कोषमा बागलुङ नगरपालिकाले १० लाख र अन्य सबै स्थानीय तहले ५÷५ लाख रुपैयाँ जम्मा गर्ने सहमति भएको छ ।

 

‘अहिले बिरामीको उपचार धौलागिरि अस्पताल केन्द्रित भइरहेको छ । सोहीअनुसारको तयारी हामीले गर्नु छ,’ बागलुङ नगरपालिका प्रमुख जनकारज पौडेलले भने, ‘हामीले कोष बनाएका छौँ । अस्पतालसँग समन्वय गरेर आवश्यक ठाउँमा कोषको परिचालन हुन्छ ।’

 

बागलुङ नगरपालिकामा रहने कोषको रकम खर्चका लागि धौलागिरि अस्पतालले अधिकार पाएको छ । अस्पतालको अवश्यकताका आधारमा खर्च गर्न पालिका प्रमुखहरू सहमत भएका हुन् । 


बैठकले कोरोना महामारीको समयमा समेत यहाँका स्वास्थ्य संस्थामा जनशक्ति अभाव भइरहेको विषयमा प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराएको छ । 

कोभिड नियन्त्रणमा थप जनशक्ति आवश्यक देखिएकाले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराइएको पौडेलले जानकारी दिए ।

 

गत वर्ष पनि कोरोना महामारीको समय यहाँका स्थानीय तहले भारतलगायत देशबाट आउनेलाई क्वारेन्टाइन व्यवस्था, नमुना संकलन तथा परीक्षण, राहतलगायतका लागि संयुक्त कोष बनाएर काम गरेका थिए ।