close

कोरोना रोकथाममा जुट्यो खोटाङ: अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन जुटाउन कार्यदल 

कोरोना रोकथाममा जुट्यो खोटाङ: अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन जुटाउन कार्यदल 

Trulli
ADVERTISEMENT

खोटाङ- अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि खोटाङले कार्यदल बनाएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले कोभिड-१९ को दोस्रो लहरको महामारीलाई लक्षित गर्दै जिल्लामा अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि कार्यदल बनाउने निर्णय गरेको हो । 

 

अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्था गर्न जिल्ला अस्पतालका डा. वैभव मल्लिकको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरिएको हो ।

 

कार्यदलमा जिल्ला समन्वय समितिले तोकेको १ जना, जिल्ला प्रशासन कार्यालयले तोकेको १ जना र स्वास्थ्य कार्यालयका प्रमुख सदस्य रहने कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ । 

 

संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा जिल्लामै अक्सिजन उत्पादन गर्दै अभाव पूर्तिका लागि अक्सिजन प्लान्ट तथा पिसिआर परीक्षणका लागि जिल्ला बाहिर स्वाव पठाउनुपर्ने बाध्यता अन्त्या गर्दै परीक्षणको दायरा बढाउन पिसिआर मेसिन खरिद तथा व्यवस्थापनको प्रयास गर्ने निर्णय गरिएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । 

 

बैठकले घर बाहिर निस्किएर समूहमा मनाइने चाडपर्व स्थगन गर्ने, त्यस्ता चाडवाडलाई औपचारिकताका लागि घरभित्र पनि सीमित संख्याको उपस्थितिमा मनाउन आग्रह गर्ने निर्णय गरेको छ । 

 

यस्तै, कोभिड-१९ बाट बच्न र बचाउने अभियानका लागि सरकारले दिएको निर्देशन र सिसिएमपी/डिसिसिएमसिले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइसाथ लागू गर्ने÷गराउने निर्णय गरिएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ ।

 

बैठकमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।