close

अड्कलेर पिपिई ! दैनिक माग २५ वटा, पाइन्छ सातामा १२०

अड्कलेर पिपिई ! दैनिक माग २५ वटा, पाइन्छ सातामा १२०

Trulli
ADVERTISEMENT

बागलुङ- कोरोना संक्रमितले बेडहरू भरिन थालेपछि धौलागिरि अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि दैनिक २५ वटा पिपिई चाहिन्छ । तर, अस्पतालमा १२० वटाले साता दिन पुर्‍याउनुपर्ने बाध्यता छ ।

 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सामग्री आपूर्ति शाखाबाट सीमित सामग्री पठाएपछि अस्पतालमा पिपिई लगाएका स्वास्थ्यकर्मी र चिकित्सकले फेरेर आराम गर्ने मौका पाउन सकेका छैनन् ।

 

बिहान लगाएपछि बेलुकीसम्म नखोल्दा फोन उठाउन नपाउने, खाजा र खाना खाने फुर्सद नपाउने समस्या पर्ने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । सकेसम्म थोरै प्रयोग गरेर उपचार भ्याउन लगाइएको उनको भनाइ छ ।


अस्पतालको आफ्नो स्रोत नभएको, नियमित खरिदका लागि बजेट नआएको तर दैनिक दर्जनौँ सेट पिपिई चाहिने भएपछि स्वास्थ्यकर्मीले दातासमेत खोज्नु परेको उनले जानकारी दिए । 

 

केही दिनदेखि बिरामी संख्या बढेको छ । अस्पतालको इमर्जेन्सी वार्डमा पनि कोरोनाका शंकास्पद बिरामी भएकाले त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पनि पिपिई दिनुपर्ने माग बढेको डा. पोखरेलले सुनाए । 

 

‘जोखिममै बसेर साथीहरूले काम गर्नुभएको छ, पिपिई दिनुपर्नेछ,’ डा. पोखरेलले भने, ‘आइसोलेसनलाई चाहिन्छ भनेर अड्कलेर मात्रै सामग्री दिने गरिएको छ ।’ 

 

अस्पतालले १ सय बेड बनाएर चलाउने योजना छ । अस्थायी रूपमा योजना पूरा गर्दा पिपिई पनि थप्नुपर्ने डा. पोखरेलले बताए । बागलुङ नगरपालिकाले बनाएको आइसोलेसनमा ३५ बेड छन् । तीमध्ये आधा भरिएका छन् । उक्त आइसोलेसनमा पनि अस्पतालका चिकित्सकले सेवा दिएकाले थप पिपिई चाहिएको उनको भनाइ छ । 

 

नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीबाहेक जटिल समस्या पर्दा अस्पतालबाट डाक्टर पुग्ने गरेका हुन् । समयमा चाहेजति पिपिई नआएपछि अड्कल गरेर प्रयोगमा ल्याएको पोखरेल सुनाउँछन् ।

 

‘दैनिक २५ वटा पिपिई चाहिन्छ तर हामीले घटाएर प्रयोगमा ल्याएका छौँ,’ डा. पोखरेलले भने, ‘१ सातामा १२० वटासम्मले पुर्‍याएका छौँ ।’ 


अस्पताल व्यवस्थापन समितिले विभिन्न संघ-संस्था गुहारेर पिपिई, पन्जा, मास्क र बुटलगायतका सामग्री जुटाउने काम गरिरहेको समितिका अध्यक्ष केवी रानामगरले बताए ।

 

‘डाक्टर, नर्सले आफैं जोखिम मोलेर काम गरिरहेका छन्, उनीहरूलाई भत्ता त दिन सकिएको छैन, सुरक्षित पिपिई दिन पनि सकिएन,’ रानामगरले भने, ‘हरेक दिन मन्त्रालय तहमा माग भइरहे पनि सुनुवाइ भएको छैन ।’ 
अस्पतालले नियमित डायलासिस, इमर्जेन्सी र प्रसूति सेवासमेत दिएको छ । उक्त सेवामा खटिने स्वास्थ्यकर्मी र चिकित्सकले पिपिई लगाउन पाएका छैनन् । 

 

‘आइसोलेसनमा नपुग्ला भनेर अन्य शाखामा पिपिई दिन पाएका छैनौँ,’ डा. पोखरेलले भने, ‘अन्य शाखामा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखियो भने कामसमेत ठप्प हुने खतरा छ ।’ 

 

अस्पतालमा १ महिनादेखि मेडिकल अधिकृतसमेत अभाव छ । चैत पहिलो सातासम्म १४ जना मेडिकल अधिकृत रहेकामा अहिले ४ जना मात्रै छन् । मन्त्रालयमा जनशक्ति माग गरे पनि नपाएको पोखरेलले गुनासो गरे ।