close

भक्तपुर अस्पतालले अक्सिजन प्लान्ट जडान गर्ने, दैनिक ४ हजार लिटर उत्पादन

भक्तपुर अस्पतालले अक्सिजन प्लान्ट जडान गर्ने, दैनिक ४ हजार लिटर उत्पादन

Trulli
ADVERTISEMENT

भक्तपुर- अक्सिजन अभावले कोरोना संक्रमित बिरामीको उपचार प्रभावित भएपछि भक्तपुरको भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान सुरु गरेको छ ।

 

मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो ।

 

मेसु डा. गौतमका अनुसार प्लान्टबाट दैनिक करिब ४ हजार लिटर अक्सिजन आपूर्ति हुनेछ । यसका लागि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्बाट निर्णय भएको उनले बताइन् ।

 

करिब २ करोड रुपैयाँ लागतमा युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रूपमा अक्सिजन आपूर्ति समस्या केही हदसम्म समाधान हुने मेसु गौतमको विश्वास छ ।

 

तत्काल अक्सिजन प्लान्ट जडानका लागि निर्णय गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिए पनि भर्खरै मन्त्रिपरिषद्बाट उक्त निर्णय स्वीकृत भएको गौतमले जानकारी दिइन् ।

 

उनले सहजमा सबैले जस लिन खोजे पनि स्वास्थ्य संकटमा अस्पताललाई सहयोग गर्नेहरू कम देखिएको उनको गुनासो छ । राज्यका सबै अंग सक्रिय हुने र सबैले उत्तिकै महत्त्वका साथ कोभिडविरुद्धको लडाइँमा सामेल हुने हो भने यसलाई परास्त गर्न सकिने उनको बुझाइ छ ।

 

मेसु डा. गौतमले भक्तपुर अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मी संक्रमित रहे पनि नागरिकको सेवामा निरन्तरण जुटिरहेको बताइन् ।

 

अस्पतालका अध्यक्ष मिलन सुवालले निरन्तरको फलोअप र अनिवार्य आवश्यकताबारे अवगत गराइएपछि उक्त निर्णय गराउन सफलता प्राप्त भएको बताए । हाल भक्तपुर अस्पतालमा कोभिड संक्रमित ६५ बिरामीले उपचार सेवा लिइरहेका छन् । १५ वटा बेड भने अक्सिजन अभावले बन्द छन् ।