close

रुकुम पूर्व अस्पतालमा किट अभावले रोकियो परीक्षण

रुकुम पूर्व अस्पतालमा किट अभावले रोकियो परीक्षण

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- एन्टिजेन किट अभाव भएपछि कोरोना भाइरस परीक्षण स्थगित गरिएको छ । कोरोना भाइरस संक्रमण भए-नभएको पत्ता लगाउन परीक्षण गर्ने एन्टिजेन किट अभाव भएपछि तत्कालका लागि कोरोना परीक्षण स्थगित गरिएको हो । 

 

बिहीबारदेखि रुकुम पूर्व अस्पताल रुकुमकोटमा कोरोना परीक्षण रोकिएको अस्पतालका डा. गणेश चौधरीले जानकारी दिए । जिल्लामा प्राप्त भएको २ सय किटमध्ये २५/२५ वटा किट भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा पठाइएको थियो ।

 

भूमे र पुथाउत्तरगंगामा केही किट मौज्दात रहे पनि रुकुम पूर्व अस्पतालमा किट सकिएपछि बिहीबारदेखि परीक्षण स्थगित भएको डा. चौधरीले बताए ।

 

किट अभाव भएपछि कोरोना भाइरससँग मिल्दोजुल्दो भएका बिरामीको परीक्षण रोकिएको छ । समुदाय स्तरमै कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या बढ्दो क्रममा रहेको स्थानीय स्वास्थ्य संस्थाले बताएका छन् । 


जिल्लाका विभिन्न समुदायमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी संख्या बढ्दो क्रममा छ ।  रुकुम पूर्व अस्पतालमा रुकुमकोट आसपासका बिरामी मात्र दैनिक १० जनाको हाराहारी परीक्षण गर्न आउँदा ४/५ जनामा कोरोना पुष्टि नै हुने गरेको थियो । 

 

यसअघि जिल्लामा प्राप्त भएको एन्टिजेन किट सकिएपछि अस्पतालमै आउने गरेका बिरामीको परीक्षण रोकिएकाले समुदायमा झनै त्रास भएको छ । 

 

अहिलेसम्म जिल्लाभर १ सय ६९ जनाको नमुना परीक्षण गर्दा ४९ जनालाई कोरोना संक्रमण भएको छ । यीमध्ये ६ जनाको रुकुम पूर्व अस्पतालको आइसोेलेसनमा उपचार भइरहेको छ भने अन्य संक्रमित होम आइसोेलेसनमा छन् ।

 

४ जनालाई केही दिन होम आइसोलेसनमा बस्ने गरी अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

 

परीक्षणका लागि मगाइयो किट

 

सिस्ने गाउँपालिकाले किट ल्याउने तयारी गरेको छ । तत्काल कोरोना परीक्षण सुरु गर्न ३ सय एन्टिजेन किट ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । 

 

शुक्रबारसम्म ३ सय किट आइपुग्ने उनको भनाइ छ । सिस्नेमा किट आइपुगेपछि रुकुम पूर्व अस्पतालमा परीक्षण पुनः सुरु हुनेछ । ज्वरो फैलिएको समुदायमा पनि परीक्षण गरिने अध्यक्ष बरालले जानकारी दिइन् । 


भूमे गाउँपालिकाले पनि किट ल्याउने तयारी गरेको छ । अहिले ५० किट खरिद गरेर ल्याउन लागिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । प्रदेशमै पर्याप्त किट नहुँदा आपूर्तिमा समस्या भइरहेको छ । 

 

कोरोना रोकथाममा राजनीति दल एकजुट 

 

कोरोना रोकथामको पहलमा रुकुम पूर्वका राजनीति दल एकजुट भएका छन् । रुकुम पूर्वमा कोरोना संक्रमण दिनहुँ थपिरहँदा रोकथामको पहलमा जिल्लास्थित राजनीति दल एकजुट भएर लागेका हुन् । 

 

कोरोना संक्रमण न्यूनीकरण गर्न जिल्लास्थित क्रियाशील राजनीति दलहरूले एउटै स्वरमा ‘नागरिकको सुरक्षा हाम्रो प्राथमिकता’ साथ चासो लिएर अगाडि बढेका छन् । 

 

कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गरी ५ दलका कार्यकर्ता एकजुट भएर नागरिकको स्वास्थ्य सुरक्षामा लागेका हु्न् । 

 

केही दिनअघि मात्र यी ५ दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालयलाई कोरोना रोकथाममा लागि थप पहल गर्न ध्यानाकर्षण गरेका थिए । 

 

त्यसलगत्तै बिहीबार ५ राजनीति दलका १/१ प्रतिनिधिको सहभागितामा जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्व अस्पताल रुकुमकोट र सिस्ने गाउँपालिकासँग कोरोना रोकथामका लागि परामर्श गरेका हुन् ।

 

जिल्लामा समुदाय स्तरमै कोरोना भाइरस संक्रमण देखिन थालेपछि जिल्लाका क्रियाशील राजनीतिक दलले जिल्लास्थित सरोकारवालासँग परामर्श थालिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य कृष्ण रेग्मीले बताए । 

 

परामर्शको क्रममा रुकुम पूर्व अस्पतालमा हाल कोरोना संक्रमितमध्ये अक्सिजनसहित उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे बुझिएको उनको भनाइ छ । 

 

कोरोना संक्रमणको जोखिमले हरेक नागरिकलाई साँझ-बिहान हातमुख जोहो गर्न समस्या भइरहे पनि पहिलो प्राथमिकता जिल्लाबासीलाई बचाउनु नै रहेकाले यसमा ध्यान दिइएको एमाले जिल्ला संयोजक टोपबहादुर ओलीले बताए ।


संक्रमितको संख्या थपिँदै जाँदा अस्पतालमा रहेको सीमित स्रोत-साधनका कारण चुनौती थपिएको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए । हाल अस्पतालमा ६ बेडको मात्र आइसोलेसन रहेकाले कोरोनाका बिरामी थपिएमा उपचारमा समस्या हुने उनको भनाइ छ । 

 

अस्पताल, जिल्ला प्रशासन र सिस्ने गाउँपालिकासँग कोरोना रोकथामका लागि राजनीतिक दलले परामर्श गरेपछि संयुक्त रूपमै नागरिकको स्वास्थ्य अवस्था बुझ्न खटिने निर्णय भएको छ । 

 

गाउँपालिकाले मगाएको एन्टिजेन किट आइपुग्नासाथ कोरोना संक्रक्रमण देखिएको समुदायमा वडाध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी राजनीति दलका प्रतिनिधिको सहकार्यमा नमुनाको रूपमा परीक्षणमा लाग्ने संयुक्त निर्णय गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।