close

फक्ताङ्लुङ जानुपरे स्वास्थ्य जाँच अनिवार्य

फक्ताङ्लुङ जानुपरे स्वास्थ्य जाँच अनिवार्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँ प्रवेश गर्नेलाई स्वास्थ्य जाँच गराएर मात्र प्रवेश अनुमति दिने भएको छ । हालसम्म कोरोना संक्रमण नदेखिएको जिल्लाको एक मात्र फक्ताङ्लुङ गाउँपालिकाले अहिलेको संवेदनशील समय स्वास्थ्य जाँच गराएर मात्र पालिका प्रवेश गर्न दिने भएको हो ।

 

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र रूपमा फैलिइरहेको अवस्थामा पालिकाभित्र प्रवेश गर्नलाई स्वास्थ्य जाँच अनिवार्य गरेको छ । जिल्लाकै करिब आधा क्षेत्रफल ओगटेको फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने जो-कोहीले स्वास्थ्य जाँच गर्नुपर्नेछ ।

 

सडक र पदमार्ग दुवै माध्यमबाट गाउँपालिका प्रवेश गर्ने मुख्य नाका सिँवा बजारमा रहेको ‘हेल्थ डेस्क’ स्थापना गरिएको र कुनै पनि गाउँ प्रवेश गर्ने नागरिकले सो हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनुपर्ने गाउँपालिका अध्यक्ष सरोज एभेङले बताए ।

 

अध्यक्ष एभेङका अनुसार स्वास्थ्य जाँचका क्रममा कुनै समस्या वा लक्षण देखिए सम्बन्धित व्यक्तिले गाउँ प्रवेश गर्न पाउने छैन । कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले कार्यपालिकाले निर्णय गरेर उक्त नियम कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए ।

 

यस्तै, सदरमुकाम फुङ्लिङसहित संक्रमण प्रभावित क्षेत्रबाट गाउँपालिका प्रवेश हुने रुटका ट्याक्सी, जिपलगायत सबै सवारी साधनलाई प्रवेशमा रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले बताए ।

 

बिरामी प्रयोजन, खाद्यान्न तथा निर्माण सामग्री ढुवानीलगायत अत्यावश्यक काम प्रयोग भएका सवारी साधनले भने प्रवेश पाउनेछन् । गाउँपालिका तथा वडा कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा आगामी ५ जेठसम्म प्रवाह स्थगित गरिएको छ ।

 

कोभिडको जोखिमलाई दृष्टिगत गर्दै गरिएको निर्णय तथा नियम कडाइका साथ कार्यान्वयनमा ल्याइएको पालिकाले जनाएको छ ।