close

ओखलढुंगाकाे कोभिड-१९ केयर युनिटमा भेन्टिलेटर राखिँदै 

ओखलढुंगाकाे कोभिड-१९ केयर युनिटमा भेन्टिलेटर राखिँदै 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– सामुदायिक अस्पताल ओखलढुंगामा स्थापना गरिएको कोभिड–१९ केयर युनिटमा भेन्टिलेटरसहितको सेवा दिन पहल थालिएको छ । अक्सिजनसहित २० बेडको कोभिड केयर सेन्टर स्थापना गरिएपछि १३ जना कोरोना संक्रमित उपचाररत छन् । 


अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट माग गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए । 


प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार सहभागी बैठकले स्वास्थ्य मन्त्रालयमा माग गर्ने र त्यसको समन्वय सांसदले गर्ने निर्णय भएको छ । सामुदायिक अस्पताल मिसनमा रहेको कोभिड केयर सेन्टरमा ३ वटा भेन्टिलेटरसहितको सेवा दिन सके कोभिडबाहेकका बिरामीको उपचार गर्नसमेत हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता हट्ने सांसद सुनुवारले बताए । 


उनले भने, ‘बैठकले निर्णय गरेर माग गरिएको छ । कम्तीमा १ करोड रुपैयाँ बजेट भए भेन्टिलेटरसहितको उपचार सेवा दिन सकिने अस्पतालले जानकारी गराएकाले त्यसको पहल भइरहेको छ ।’


जिल्लामा सामुदायिक अस्पतालमा मिनिअक्सिजन प्लान्ट सञ्चालनमा रहेकाले बिरामीको उपचारमा सहज भएको छ । 


सरकारी रुम्जाटार अस्पतालमा भने कोभिडका बिरामीका लागि ७ बेड व्यवस्थापन गरिएको छ भने अक्सिजन तथा भेन्टिलेटर कुनै सुविधा नभएकाले बिरामी उपचार गर्न पैसा तिरेरै भए पनि सामुदायिक अस्पतालमै जाने गरेका छन् ।


जिल्लामा भेन्टिलेटरसहितको सेवा दिन जनशक्ति व्यवस्थापन आवश्यक भए पनि जिल्ला अस्पताल र सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिएर खटाउन सकिने सामुदायिक अस्पताल मिसनका निर्देशक युवराज आचार्यले बताए ।


बृहत् परीक्षणका लागि किट तथा सघन उपचारका लागि भेन्टिलेटर व्यवस्थापन गर्न मन्त्रालयमा सांसदमार्फत पहल भइरहेको उनको भनाइ छ ।