close

औषधी बोकेर संक्रमितको घरघर पुग्न थाले जनप्रतिनिधि

औषधी बोकेर संक्रमितको घरघर पुग्न थाले जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

लमजुङ– कोरोना महामारी संक्रमण बढ्दै जाँदा लमजुङको बेँसीसहर नगरपालिकाले संक्रमितको स्वास्थ्यबारे चासो लिएको छ । नगरभित्रका संक्रमितको स्वास्थ्य अवस्था र समस्याबारे बुझ्न नगरपालिकाका जनप्रतिनिधि गाउँ पुग्न थालेका छन् ।

 

नगरप्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारीसहितका जनप्रतिनिधि संक्रमितको घरघरमै पुगेका हुन् । संक्रमितको समस्या सुन्ने र समाधानको उपाय खोज्न घरघरमै पुगेको नगरपालिका प्रमुख अर्यालले बताए ।

 

उनका अनुसार मंगलबार बेँसीसहर नगरपालिका वडा नम्बर ६ मकैडाँडा र वडा नम्बर ७ बेँसीसहरका संक्रमितको अवस्था बुझिएको छ ।मकैडाँडाका २ र बेँसीसहरका ६ संक्रमित गरी ८ जना संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको अर्यालले सुनाए । संक्रमित र संक्रमितको परिवारलाई हौसला प्रदान गर्न घरमै पुगेको उनको भनाइ छ ।

 

होम आइसोलेसनमा बस्दै आएका संक्रमितलाई आवश्यकताअनुसार ग्यास्ट्रिकको औषधी, भिटामिन, सिटामोल, जीवनजल, साबुन, मास्कलगायत प्रदान गरियो । विपन्न संक्रमितका परिवारलाई ३ हजार रुपैयाँ प्रदानगरिएको नगरपालिकाले जनाएको छ ।

 

कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका नगरभित्रका संक्रमितलाई जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा व्यवस्थापन गरिएको छ । केहीलाई अक्सिजन दिएर राखिएको छ । संक्रमितलाई व्यवस्थितका साथ बस्न, सरसफाइमा ध्यान दिन, शौचालय अलग–अलग प्रयोग गर्न नगरपालिका प्रमुख अर्यालले आग्रह गरे ।

 

नगरपालिकाले प्रतिसंक्रमित २५ पिस मास्क, एउटा लाइफब्वाय साबुन, औषधी प्रदान गरेको हो । जनप्रतिनिधिसँग होम आइसोलेसनमा रहेका संक्रमितलाई परामर्श दिन स्वास्थ्यकर्मी पनि खटिँदै आएका छन् ।

 

संक्रमितको आवश्यकताअनुसार आवश्यक सामग्री व्यवस्थापन गरिने नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले बताइन् । संक्रमित र अन्य नागरिकलाई समस्या परे एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनको भनाइ छ । 

 

नगरपालिकाले संक्रमितको परिवार र सम्पर्कमा रहेका व्यक्तिको सोमबार र बिहीबार कन्ट्याक्ट टे«सिङ गर्दै आएको छ । नगरपालिकाले नगरबासीलाई अनावश्यक कामबाहेक घर बाहिर ननिस्कन, अनिवार्य मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, साबुनपानीले हात धुन आग्रह गरिरहेको छ ।