close

आइसियु, भेन्टिलेटरभन्दा महँगो अक्सिजन

आइसियु, भेन्टिलेटरभन्दा महँगो अक्सिजन

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कोरोना संक्रमणजस्तै लक्षण देखिएपछि कपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवाका ४२ वर्षीय ज्ञानेन्द्र सिलवाल कपिलवस्तु अस्पतालमा उपचारका लागि पुगे । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पतालको आइसियु र भेन्टिलेर कक्षमा उपचार गरियो । १२ दिनपछि उपचारकै क्रममा उनको निधन भयो । 

 

तर, उनको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नगेटिभ आएको छ । मृतकका परिवारले कोभिडकै शंका गरी नगरपालिकाको सहयोगमा शव व्यवस्थापन गरे ।

 

आफ्नो सदस्यको मृत्यु भएको वेदनामा परेका परिवार अस्पतालको बिल देखेर थप पीडामा हुन्छन् । उपचारका लागि अस्पतालमा मात्र १ लाख २७ हजार रुपैयाँको बिल तिर्नुपरेपछि सरकारी अस्पतालको दस्तुर महँगो भएको उनीहरू सुनाउँछन् ।

 

मृतकका भतिजा सुभास रावलले २ जेठमा सम्पूर्ण बिल रकम एकै पटक भुक्तानी गरे । उनले अक्सिजन प्रयोग गरेबापत ९६ हजार ७ सय ५० रुपैयाँको बिल भुक्तानी गरेका छन् ।

 

तर, रावलले आइसियु र भेन्टिलेर प्रयोग गर्दा जम्मा २९ हजार ६ सय रुपैयाँ बिल आएको थियो । आइसियु चार्ज प्रतिदिन १८ सय र भेन्टिलेर चार्ज प्रतिदिन ३८ सय रुपैयाँ रहेको छ ।
 

उपचार गराउँदा धेरै खर्च अक्सिजनमा गएपछि रावल परिवारले अक्सिजन प्रयोगमा सहुलियत दिन सरकारले ध्यान दिनुपर्ने बताउँछन् । ‘यति महँगो भएपछि सामान्य मानिसले सरकारी अस्पतालको बिल तिर्न सक्दैछन ? हामी मध्यम परिवारका हौँ । जेनतेन ति¥यौँ तर गरिब जनतालाई समस्या छ, बिल तिर्न नसकी प्राण जाने देखियो । सरकारले तत्काल सोच्नुपर्छ,’ उनले भने ।

 

घटना बाहिर आएपछि कपिलवस्तुका अधिकारकर्मीले समेत चासो दिएका छन् । सरकारी अस्पतालमा समेत अक्सिजनको पैसा तिर्न गाह्रो देखिएपछि तत्काल ३ तहको सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने मानव अधिकारकर्मी रवीन्द्रनाथ ठाकुर बताउँछन् ।

 

अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि जिल्लामा नागसिरक समुदायले समेत सहयोग गरेको हुँदा सरोकारवाला निकायको तत्काल ध्यान जानुपर्ने ठाकुरको सुझाव छ ।

 

अस्पतालका मेडिकल को–अर्डिनेटर डा. गणेश क्षेत्रीले कोरोना संक्रमितको मात्र उपचार निःशुल्क हुने बताए । मृतकको रिपोर्ट नेगेटिभ आएकाले अस्पतालले निर्धारण गरेको शुल्क लिएको उनले स्पष्ट पारे ।

 

बिल रकम धेरै देखिए पनि अन्य सरकारी अस्पतालमाको शुल्कभन्दा सस्तो रहेको उनको दाबी छन् । तिर्न नसक्ने विपन्न नागरिक आउँदा छुट दिइने गरेको डा. क्षेत्रीले जानकारी दिए ।