close

कोरोना संक्रमण सर्ने डरले लुमा स्वास्थ्य चौकी बन्द : उपचारमा आउनेहरू रित्तो हात फर्किंदै

कोरोना संक्रमण सर्ने डरले लुमा स्वास्थ्य चौकी बन्द : उपचारमा आउनेहरू रित्तो हात फर्किंदै

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्बर १ लुमामा रहेको स्वास्थ्य चौकी १ सातायता बन्द रहेको छ । बाजुरामा यतिबेला कोरोनाको संक्रमणको त्रास उत्तिकै रहेको र गाउँमा ज्वरो, रुघाखोकीलगायतका बिरामी बढिरहेका बेला स्वास्थ्य चौकी नै बन्द रहेको स्थानीयले बताए ।

 

स्वास्थ्य चौकी बन्द हुँदा बिरामी स्वास्थ्य उपचारका लागि आए पनि रित्तो हात फर्किनुपरेको स्थानीय वीरेन्द्र विष्टको गुनासो छ । लुमा स्वास्थ्य चौकी इन्चार्ज फूलमाया उपाध्यायले स्वास्थ्य शाखा जगन्नाथले ओपीडी सेवा बन्द गर्ने र इमर्जेन्सी सेवामा मात्रै चलाउन खबर गरेकाले सोहीअनुसार इमर्जेन्सी सेवा मात्र उपलब्ध गराइन् बताइन् ।

 

‘कोरोनाको जोखिमका कारण इमर्जेन्सी सेवा चलाउन भनिएकाले प्रसूतिलगायतका सेवा मात्र सञ्चालन गरेका हौँ’, उनले भनिन् । गाउँपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र शाहीले भने अहिलेको परिस्थितिमा इमर्जेन्सी सेवा बन्द नगर्न भनिएको, स्वास्थ्य चौकीमा १ जना स्टाफ नर्स र कार्यालय सहयोगी राखेर खोल्ने निर्णय भएको दाबी गरे ।
 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले स्वास्थ्य चौकी बन्द गर्ने निर्णय गाउँपालिकाले नगरेको र उपलब्ध कर्मचारीलाई बरु १५–१५ दिनको पालो लगाएर काम गर्न भनिएको जानकारी दिए ।

 

स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले स्थानीयमा कोरोना संक्रमणको जोखिमका कारण इमर्जेन्सी सेवा सञ्चालन गर्ने भनिए पनि स्थानीयले आग्रह गरे सेवा सञ्चालन गर्न तयार रहेको प्रतिक्रिया दिइन् ।

 

जगन्नाथको स्वास्थ्य चौकी प्रतिनिधि घटना भए पनि जिल्लाका कतिपय स्वास्थ्य चौकीले कोरोना महामारीको जोखिम बढेको भन्दै सेवा बन्द गरेर घरमै वस्ने गरेका छन् ।
 
कोरोनाको महामारीको समय स्वास्थ्य संस्था बन्द गर्दा यसले स्थानीयलाई स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुपर्ने अवस्था छ । संकटका बेला स्वास्थ्यकर्मीले चौबीसै घन्टा सेवा दिनुपर्नेमा उल्टै कोरोना सर्ने डरले स्वास्थ्य संस्था नै बन्द गरेर घरमा बस्दा नागरिक चिन्तामा छन् ।