ओखलढुंगा– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा ज्वरोसहितका लक्षणका बिरामीको संख्या धेरै छ । गाउँपालिकाले पिसिआरका लागि थप पहल गरिरहेको छ ।
तर, धेरै जना परीक्षण गर्न चाहँदैनन् । ३ दिनअघि कोभिड पुष्टि भएका ९ मध्ये मानेभन्ज्याङका ६ जना घरबाट कतै नगएको स्थानीय भएको स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले बताए । अन्य ३ जना धरान र काठमाडौंबाट आएका हुन् ।
अधिकांशलाई कोभिड संक्रमण पुष्टि भए सामाजिक रूपले वहिष्कारझैं हुने डर छ । त्यसैले उनीहरू परीक्षण नै गर्न नचाहने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
त्यस्तै, चिशंखुगढी गाउँपालिकाको केही वडामा १ महिनादेखि नै समुदाय स्तरमै ज्वरोका बिरामी थिए । तर, उनीहरू सामान्य बेलाकै ज्वरो हो भनेर उपचार र परीक्षण गरिरहेका थिएनन् । कोभिड फैलिएको हल्ला सुनिँदै थियो । कतिपय निको हुन थालिसकेका थिए ।
एक साताअघि मात्रै गाउँपालिकाले वडा नम्बर ५ का ती कोभिडका लक्षणसँग मिल्दाजुल्दा बिरामीलाई उपचार गर्न स्वास्थ्य संस्थामा
बोलायो । उनीहरू आएपछि स्वाब संकलन गरियो । रिपोर्टमा गाउँपालिकाकै कर्मचारीसहित गरेर १३ जनाको पोजेटिभ देखियो । उनीहरूको अवस्था सामान्य छ ।
बुधबार मात्रै वडा नम्बर ७ मा १५, वडा नम्बर ५ मा ५ जना र वडा नम्बर २ मा २ जना संक्रमित फेला परेका छन् । सोमबार कन्ट्याक्ट ट्रेसिङमा ६२ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पठाइएकामा उक्त संख्या देखिएको छ ।
‘अहिले पोजेटिभ देखिएकाहरू पनि कोभिड परीक्षण गर्ने भनेको भए आउने थिएनन् । हामीले बिरामीको उपचार गर्ने भनेर बोलाएपछि आएका हुन्,’ गाउँपालिका अध्यक्ष निशान्त शर्माले भने, ‘हाम्रो अनुमानमा समुदायमै कोभिडलाई लुकाएर राख्न चाहनेको संख्या धेरै छ । लक्षण देखिएकाहरूलाई परीक्षणका लागि बोलाउँदा पनि आउन मान्दैनन् ।’
त्यसभन्दा धेरैलाई पिसिआर गर्न बोलाए पनि उपस्थित नभएको अध्यक्ष शर्माले बताए । ‘रातारात काठमाडौंबाट आउने अनि गुपचुपमा घर र आफन्तमै सीमित राख्ने गर्दा यो समुदाय स्तरमा फैलिएको हो,’ अध्यक्ष शर्माले भने ।
स्वास्थ्य संस्थामा छैन अक्सिमिटर
४ दिन पहिले मोलुङ गाउँपालिकाका १ जना बिरामीलाई श्वासप्रश्वासमा समस्या भयो । कोभिडको लक्षणसँग मिल्दाजुल्दा बिरामी देखिएकाले तत्काल मिसन अस्पताल ओखलढुंगा ल्याइयो । उनको अक्सिजनको अवस्था चेक गर्दा सामान्य थियो ।
उनलाई अन्य समस्या रहेछ । तर, गाउँपालिका आसपासकै स्वास्थ्य संस्थाहरूमा अक्सिजनको मात्रा परीक्षण गर्न अक्सिमिटर पाइएन । बिरामी आत्तिएकैले मिसन पु¥याउनुप¥यो । पल्स अक्सिमिटर अन्य बिरामीका लागिभन्दा कोभिड संक्रमितका निम्ति अति आवश्यक मानिन्छ ।
हाल संक्रमण पुष्टि भएर होम आइसोलेसनमै बसेकालाई झनै यसको जरुरत छ । तर, कतिपयले आफैं किनेर प्रयोग गरिरहेका छन् । स्वास्थ्य संस्थामा यो सहज रूपमा उपलब्ध छैन ।
मोलुङ गाउँपालिकामा पल्स अक्सिमिटर अभाव भएको स्वास्थ्य शाखा संयोजक वेदहरि दाहालले बताए । उनले हालै मात्र १४ वटा पल्स अक्सिमिटर खरिदका लागि सूचना निकालिएको जानकारी दिए । केही दिनभित्रै पूर्ति गरिने उनको भनाइ छ ।
मोलुङ गाउँपालिकाले कोभिड अस्पताल रामपुरमा २ वटा अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था गरेको छ । थप ३ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ ।
मानेभन्ज्याङ गाउँपालिकामा पनि पल्स अक्सिमिटर अभाव छ । १० वटा खरिदका लागि मगाइसकेको स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जानकारी दिए ।
बजारमा २ हजारदेखि २ हजार ५०० रुपैयाँमा पाइने अक्सिमिटर यसबेला ६ हजार रुपैँयासम्म पर्ने गरेको उनले बताए । खरिद गर्न खोज्दासमेत नपाइने स्थिति रहेको उनी सुनाउँछन् ।
चिशंखुगढी गाउँपालिकामा भने अक्सिमिटर अभाव नभएको पालिकाले जनाएको छ । जिल्लामा निषेधाज्ञा जारी भएको १० दिन बिते पनि संक्रमितको संख्या थपिएको थपियै छ । हालसम्म १७० जना संक्रमित संख्या पुगिसकेका छन् ।
परीक्षणका लागि किट अभाव
जिल्लामा परीक्षणका लागि किट अभाव छ । पिसिआरका लागि जिल्लामा स्वास्थ्य सेवा विभागबाट संघीय सांसद यज्ञराज सुनुवारमार्फत जिल्ला आएको किटबाट स्वाब लिने काम भइरहेको छ । बृहत् परीक्षणका लागि किट पर्याप्त नरहेको स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।उनले भने, ‘किट अभाव हुने भएकाले कोभिडका बिरामीको पूरा लक्षण देखिएकाको मात्रै परीक्षण गर्नुपर्ने बाध्यता छ ।’
परीक्षणका लागि आवश्यक किट अभाव र समयमा रिपोर्ट नआउने भएकाले जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको छ । स्वाब लिएको ३ तीन दिनपछि बल्ल काठमाडौं वा धुलिखेलबाट स्वाब परीक्षण गराएर रिपोर्ट लिनुपर्ने बाध्यता छ ।
जिल्लामै स्वाब परीक्षण प्रयोगशाला र भेन्टिलेटरसहितको उपचार व्यवस्था गर्न नागरिकले माग गरे पनि स्थानीय सरकारले बजेट व्यवस्थापन गरेका छैनन् ।