close

खोटाङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

खोटाङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

Trulli
ADVERTISEMENT

खोटाङ– जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट खरिद तथा जडान प्रक्रियाका लागि अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँको सहमति दिएको छ । 

 

कोभिड–१९ को महामारीका बेला संक्रमितलाई आवश्यक अक्सिजन व्यवस्थाका लागि जिल्लामै अक्सिजन उत्पादन गर्न स्वास्थ्य मन्त्रालयको मागबमोजिम अर्थको बजेट तथा कार्यक्रम महाशाखाले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद जडान प्रक्रिया अघि बढाउन सहमति दिएको हो ।

 

अर्थले स्वास्थ्य मन्त्रालयको नीति तथा योजना शाखालाई ६ जेठमा दिएको सहमतिसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बाटो खुलेको हो । 
 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको गत ३१ वैशाख मा बसेको बैठकले कोभिड–१९ को दोस्रो लहरको महामारीलाई लक्षित गर्दै जिल्लामा अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद एवं व्यवस्थापनका लागि जिल्ला अस्पतालका डा. वैभव मल्लिकको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो ।

 

कार्यदल बनेसँगै स्वास्थ्य कार्यालय खोटाङले अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड रुपैयाँ निकासाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष रकम मागेको थियो । 

 

अर्थ मन्त्रालयले खोटाङसहित १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडान एवं हाइ डिपिडेन्सी युनिट 
(एचडियु) बेड जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको छ । 

 

अर्थले भक्तपुर क्यान्सर अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि २ करोड र २५ शय्याको एचडियु बेड विस्तारका लागि ३ करोड १२ लाख ७० हजार, चरीकोट अस्पतालमा ५ शय्याको एचडियु जडानका लागि ८० लाख र अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख, जिरी अस्पतालमा एचडियु बेड विस्तारका लागि ८० लाख, बझाङ अस्पतालमा ५ बेडको एचडियु विस्तारका लागि ८० लाख र अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख, डोटी अस्पतालमा ५ बेडको एचडियु बेड विस्तारका लागि ८० रुपैयाँ लागतको प्रक्रिया सुरु गर्न भनेको छ । 

 

यस्तै, अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि बाजुरा अस्पताल, अछाम अस्पताल, सोलुखुम्बु अस्पताल, ताप्लेजुङ अस्पताल, सूर्यविनायक नगरपालिका अस्पताललाई ७५÷७५ लाख तथा मदन भण्डारी अस्पताल ट्रमा सेन्टरमा ५ बेडको एचडियु बेड विस्तारका लागि ८० लाख र अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।