close

जिल्ला अस्पताल लमजुङमा जोडियो अक्सिजन प्लान्ट

जिल्ला अस्पताल लमजुङमा जोडियो अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

लमजुङ– जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । मंगलबारदेखि सञ्चालनमा ल्याउने गरी अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला अस्पताल लमजुङले जनाएको छ । 


अक्सिजन जडान गरेर शनिबार राती नै परीक्षण सफल भएको छ । नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ संक्रमण बढेपछि अस्पतालमा अक्सिजन अभाव हुन नदिन प्लान्ट निर्माण प्रक्रिया अघि बढाइएको अस्पतालले बताएको छ ।

 

अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ५५ लाख रुपैयाँमा बोलपत्र स्वीकृत भई अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला अस्पताल लमजुङका प्रशासक हेमन्त श्रेष्ठले बताए ।

 

‘निषेधाज्ञाको समय भए पनि अत्यावश्यक क्षेत्र भएकाले भारतबाट उपकरण ल्याएर प्लान्ट निर्माण गर्न लागेका हौँ’, उनले भने । 

अक्सिजन प्लान्ट निर्माणपछि १ दिनमा १५० किलोग्रामका १५ सिलिन्डर अर्थात् २ हजार २ सय ५० किलोग्राम अक्सिजन उत्पादनगर्न सकिने अस्पतालले जनाएको छ ।

 

अस्पतालमा ठूलाखाले ५० वटा सिलिन्डर रहेको श्रेष्ठले बताए । साना खाले ५ वटा छन् । कोरोना संक्रमण जोखिमका बेला सबै सिलिन्डर तयारी अवस्थामा अस्पतालमै राखिने श्रेष्ठले जानकारी दिए । प्लान्ट बनेपछि आफैं अक्सिजन उत्पादन गर्न सकिने भएकाले कोरोना संक्रमितका साथै अन्य बिरामीलाई सहज स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।

 

अस्पतालमै अक्सिजन उत्पादन हुन थालेपछि बाहिरबाट अक्सिजन धेरै खरिद गर्नु नपर्ने अस्पतालले जनाएको छ । उत्पादित अक्सिजनलाई पाइप लाइनमार्फत आइसियु, आइसोलेसन, इमर्जेन्सी, अन्तरंग (वार्ड) र प्रसूति वार्डमा पठाइनेछ । 

 

पाइप लाइन निर्माण र प्लान्ट राख्ने घर निर्माण यसअघि नै सपन्न भइसकेको छ छ । प्लान्ट जडानपछि सिलिन्डर आवश्यक नपर्ने र पाइप लाइनमार्फत सीधै बेडमा जोडिने अस्तालले जनाएको छ । अस्पतालको ८२ वटा बेडमा अक्सिजन पाइप लाइन जडान गरिएको छ ।