close

कोरोनाबाट नागरिक जोगाउन सिन्धुपाल्चोकका स्थानीय तह सक्रिय (भिडियाे खबर)

कोरोनाबाट नागरिक जोगाउन सिन्धुपाल्चोकका स्थानीय तह सक्रिय (भिडियाे खबर)

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- कोरोना संक्रमणको दोस्रो लहर आएसँगै सिन्धुपाल्चोक पनि निकै आक्रान्त छ । सिन्धुपाल्चोकमा पिसिआर परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमितको ग्राफ पनि दैनिक उँभोतिर लागिरहेको छ । समुदायस्तरमा फैलिएको कोरोना रोकथामका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित स्थानीय तह निकै सक्रिय छन् । कोरोना नियन्त्रणका लागि अनेका जुक्ति लगाउँदा पनि संक्रमित र सन्त्रासको दर उस्तै छ । तर पनि आफ्नो नागरिक बचाउन स्थानीय तहका जनता लागिरहेका छन् । 


कोरोना रोकथामका लागि सिन्धुपाल्चोकका स्थानीय तह सक्रिय बनेका छन् । कोभिड १९ को दोस्रो भेरियन्ट भयानक रूपमा भित्रिएपछि नागरिक जोगाउन स्थानीय तह लागि परेका हुन् । सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकाका जनप्रतिनिधि नागरिकको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्न थालेका छन् । जनताको मतबाट आफू विजयी भएकाले उनीहरुकै सेवामा लाग्नुपर्ने भन्दै जनप्रतिनिधिले गाउँबासीको स्वास्थ्यबारे चासो लिएका हुन् । 


नागरिक जोगाएपछि मात्रै राजनीति सम्भव हुने भएकाले जनप्रतिनिधि जनताको स्वास्थ्य समस्या बुझ्न टोल टोलमा समेत पुग्छन् । जिल्लाका कुनै स्थानीय तहमा औषधिसहितका डाक्टरलाई जनताको घर आँगनमा जनप्रतिनिधिले पठाएका छन् भने कतै स्वास्थ्य सामग्री र पोषणयुक्त खानेकुरा लिएर संक्रमितकै घरमा जनप्रतिनिधि पुग्ने गरेको पाइएको छ ।


चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोनाको दोस्रो लहरमा नगरपालिकाका सबै वडामा पुगेर नागरिकको पिसिआर सहित स्वास्थ्य जाँच गर्ने गरेको छ । हालसम्म चौतारा साँगाचोकगढीले करिब तीन हजार पाँच सयको पिसिआर परीक्षण गरिसकेको छ भने संक्रमित भएका व्यक्तिलाई आइसोलेसनसम्म ल्याउन निशुल्क एम्बुलेन्सको पनि व्यवस्था गरेको छ । 

 

कोभिड १९ को दोस्रो लहरले चरम रुप लिइरहँदा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले टोलटोलमा पुगेर विरामी खोज्न थालेका छन् । इन्द्रावतीले औषधिसहित डाक्टर लगेर गाउँवासीको स्वास्थ्य जाँच गर्न थालेका हुन् । कोरोना संक्रमति भएकाहरुलाई आवश्यक औषधि दिने, संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने र अन्य रोगीहरुको समेत घरमै गई स्वास्थ्य जाँच गर्न थालिएको हो । इन्द्रावतीले अक्सिजनसहितको ३० बेडको आइसोलेसन निर्माण गरेको छ । 


चीन सँग सीमा जोडिएको भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि पनि कोभिड नियन्त्रणका लागि जुटेका छन् । भयानक बन्दै गएको कोरोनाका दोस्रो लहरमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले संक्रमित भएकाहरुको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने गरेका हुन् । उनले दैनिक आवश्यक पर्ने टावेल, टुथपेस्ट, साबुन, मास्क, सेनिटाइजरलगायत सामग्री बोकेर संक्रमितको घरमा पुगेको गाउँपालिकाले जनाएको छ । भोटेकोशीका ७ स्थानमा आइसोलेसन निर्माण गरिएको छ । गाउँपालिका प्रवेश गर्ने स्थानहरुमा हेल्थ डेस्क राखिएको छ ।


स्थानीय तहले संक्रमित भएकाहरुका लागि क्वारेन्टाइन र आसोलेसनको समेत आफैले व्यवस्था गरेको छ । जिल्लाभर हाल दुई सय ११ बेडको आइसोलेसन तयारी अवस्थामा छ । त्यहाँ मापदण्डसहितको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले पनि स्वास्थ्य सामग्री सहयोग गर्ने क्रम पनि बढेको छ । अक्सिजनसहित आसोलेसन निर्माण गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा अहिले एक सय ६४ वटा अक्सिजन सलिण्डर छन् । ती  मध्ये ९० प्रतिशत मात्रै भरिएको छ । बाँकी सिलिण्डरमा अक्सिजन भर्न बाँकी छ ।