close

भेन्टिलेटर र आइसियुसम्मै पुग्याे एमाले विभाजनकाे राजनीति

भेन्टिलेटर र आइसियुसम्मै पुग्याे एमाले विभाजनकाे राजनीति

Trulli
ADVERTISEMENT

ओखलढुंगा- जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ३ जेठ २०७६ मा सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गर्‍यो ।


प्रदेश सरकारसँग अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गरेर २० बेडमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार सुरु गरिएकाले भेन्टिलेटर आवश्यक भएको माग उठेको थियो । 

 

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयलगत्तै अस्पतालले उक्त निर्णयसहितको पत्र विघटित प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारमार्फत सोही दिन मन्त्रालयमा पठाइयो । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जेठमा चलानी नं. २३४९ को पत्रबाट अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले ५ आइसियु बेडसहित २ भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सिर्जित दायित्य प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत भुक्तानी माग गर्न १६ जेठमा परिपत्र गर्‍यो । 

 

जिल्लाको निर्णय र अस्पतालको मागसहित पटक-पटक मन्त्रालय पुगेका विघटित प्रतिनिसभाका निर्वतमान सांसद यज्ञराज सुनुवारले जिल्लामा भेन्टिलेटर र आइसियु वेड नहुँदा बिरामीले हेलिकोप्टर चार्टर गरेर महँगोमा उपचार गराउनुपर्ने बाध्यता अब हट्ने स्टाटससहित मन्त्रालयको परिपत्र फेसबुमा हाले ।

 

परिपत्रपछि कोभिड-१९ केयर युनिटमा आइसियु र भेन्टिलेटर जडान हुने कुराले सदरमुकामबासी खुसी थिए । अस्पतालले पनि तुरुन्तै खरिद प्रक्रिया अघि बढाउने तयारी थालेको थियो । 

 

अनि सुरु भयो, जालझेल

मास्क वितरणमा समेत राजनीति हुँदै आएको जिल्लामा यसपछि सुरु भयो, अर्को राजनीति । उनी माधव नेपाल समूहमा लागेकाले ओली समूहका कार्यकर्ताले यो प्रधानमन्त्रीले गरेको भन्दै फेसबुकमा जुहारी खेल्न थाले । माथिल्लो तहका नेतासम्म जुहारीमा संलग्न देखिए । 


यो जुहारी फेसबुकमा मात्र सीमित भएन । आइसियु बेड र भेन्टिरलेटर जडान गर्ने निर्णय अन्ततः मन्त्रालयले १ दिनपछि नै १७ जेठमा सोमबार परिवर्तन गर्दै ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुंगा जिल्ला अस्पतालमा स्थापना गर्ने परिपत्र गर्याे । रुम्जाटार अस्पतालले आइसियु र भेन्टिलेटर माग गरेको थिएन । 

 

मन्त्रालयको दैनिक परिपत्र फेरिएको विषयमा प्रवक्ता डा.. कृष्णप्रसाद पौडेलले अनभिज्ञ भएको बताए । उनले टेलिफोनमा भने, ‘विस्तृत कुरा डा. समीरलाई थाहा हुन्छ, सोध्नुहोला ।’ सहप्रवक्ता समीर अधिकारी पटक पटक फोन र एसएमएस गरे पनि सम्पर्कमा आएनन् । 


मन्त्रालयका एक अधिकृतले उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा परिपत्र फेरिएको नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘प्रदेशदेखि माथिसम्मकै दबाब छ । बोल्न सकिँदैन,’ प्रदेश १ का मन्त्रीसमेतको दबाबपछि उपप्रधानमन्त्री पोखरेलले दोस्रो परिपत्र गर्न लगाएको आरोप छ । 

 

पहलकर्ता निर्वतमान सांसद सुनुवार माधव समूहमा लागेकाले ओली समूहले राजनीति गरेर परिपत्र नै फेर्न लगाएको जिल्लास्थित नेता-कार्यकर्ताको आरोप छ ।

 

एमाले जिल्ला नेता दीपक फुयालले जनघनत्व, सेवाका हिसाबले सामुदायिक अस्पतालमा आइसियु बेड तथा भेन्टिलेटर अत्यावश्यक रहेकाले सुरुको निर्णय सही भएको दाबी गरे । 

 

उनले भने, ‘२० बेडको कोभिड-१९ केयर युनिट पनि भएकाले सामुदायिक अस्पतालमा अत्यावश्यक थियो । पहुँच देखाउनेले जिल्ला अस्पताललाई थप बजेट ल्याउनुपथ्र्यो । भएको कटाउनु ठीक होइन ।’ 

 

रुम्जाटारमा सरकारी अस्पताल भए पनि सेवा प्रभावकारी नभएपछि १५ शय्या बेडको उक्त अस्पतालमा बिरामी न्यून मात्रै जाने गरेका छन् । अक्सिजन प्लान्टका लागि आएको बजेट पनि फिर्ता गएको थियो । अर्थ मन्त्रालयले यो वर्ष फेरि २५ लाख रुपैयाँ निकासा गरेको छ । 

 

जिल्लास्थित नागरिक समाजका प्रतिनिधिहरूले भने जिल्लामा कोरोना भाइरस नियन्त्रणका लागि सबै एकजुट हुनुपर्नेमा तुच्छ राजनीतिक खेल नखेल्न सत्ताधारी दलका नेताहरूलाई सुझाएका छन् ।