close

संक्रमित गाउँ जोगाउन जुटेका युवालाई वडाको टेको 

संक्रमित गाउँ जोगाउन जुटेका युवालाई वडाको टेको 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– १ साताअघि ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ८ सल्लेरी गाउँका २७ जनामा कोरोना पुष्टि भयो । सल्लेरी गाउँमा त्यतिबेला पहिलो पटक कोरोना संक्रमण देखापरेको हो ।

 

पहिलो पटकमै संक्रमण समुदाय स्तरमा फैलिएको यसबाछ पुष्टि भयो । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका स्थानीयलाई अस्पतालसम्म लैजान एम्बुलेन्स भनेका बेला नपाइँदा समस्या हुन थाल्यो । 

 

सो गाउँका २ जनालाई ३ लाख ३० हजार रुपैयाँका दरले पैसा तिरेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो । आर्थिक अवस्था सामान्य भएकाको यसरी उपचार गर्न सम्भव थिएन । त्यसैले कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँमा थप संक्रमण फैलिन नदिन र गम्भीर बिरामी भएकालाई बेलैमा उपचार व्यवस्थापन आवश्यक थियो ।

 

संक्रमणबाट गाउँलाई जोगाउन स्थानीय ३ युवा मिलेर सहयोग अभियान थाले । गाउँमै रहेका सामाजिक क्षेत्रमा समेत सक्रिय युवा नेता सवद्र्धन तामाङ, देशवीर तामाङ र बेलायतमा रहेका दिलीपकुमार तामाङले थालेको अभियानमा वडा नम्बर ८ का वडाध्यक्ष हेमकुमार तामाङ, बुद्धिराज तामाङ, एकराज तामाङ, धनराज तामाङलगायतले समेत साथ दिए ।

 

उनीहरूले आफ्नै गाउँका विभिन्न पेसा, व्यवसायमा लागेकासँग आर्थिक सहयोग संकलन गर्न थाले । उनीहरूको अभियानमा अहिले ९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको छ ।

 

सो रकमबाट उनीहरूले औषधी, अक्सिमिटर, सुगर नाप्ने मेसिन, थर्मोमिट, पिपिई सेट, मास्क, स्यानिटाइजरलगायत सामग्री गाउँमा बाँडिरहेका छन् । स्वास्थ्य संस्था र कार्यालयलाई वितरण गरिरहेका छन् । ‘हाम्रो अभियान गाउँमा थप संक्रमण फैलिन नदिनु नै हो,’ अभियानकर्तामध्येका एक सवद्र्धन तामाङले भने, ‘यो अभियानबाट कोरोनाको उपचारमा समस्या भएकालाई पनि सहयोग गर्छौं ।’

 

कोरोना संक्रमितलाई अस्पतालसम्म लैजान एम्बुलेन्स नपाएपछि उनीहरूले एउटा जिप मासिक भाडा तिरेर व्यवस्था गरेका छन् । जिपले वडा नम्बर ८ भरि सेवा दिने गरी व्यवस्था मिलाएका छन् । संक्रमितलाई औषधी, अन्डा, हर्लिक्सलगायत पोषिलो खानेकुरा घरैमा लगेर वितरण गर्दै आएका छन् ।

 

उनीहरूको यो अभियानलाई स्वास्थ्य चौकी केत्तुकेका इन्चार्ज उमेश तामाङले समेत साथ दिएका छन् । उनले बिरामीको स्वास्थ्य अवस्था परीक्षण र सल्लाह दिँदै आएका हुन् । मंगलबार मात्रै सल्लेरी गाउँमा थप २७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सो वडामा ५४ जनामा कोरोना संक्रमण देखा परिसकेको छ ।