close

ताप्लेजुङका स्थानीय तहमा सबैभन्दा बढी कोरोना संक्रमित आठराई त्रिवेणीमा

ताप्लेजुङका स्थानीय तहमा सबैभन्दा बढी कोरोना संक्रमित आठराई त्रिवेणीमा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित आठराई त्रिवेणी गाउँपालिकामा देखिएका छन् । यी सक्रिय संक्रमितको संख्या ताप्लेजुङ अस्पतालमा गरिएका परीक्षणमा पुष्टि भएका बढी छन् ।

 

अस्पतालमा परीक्षण गरिएकामध्ये ८४ जना सक्रिय संक्रमित छन् । १५० जनाको परीक्षण गरिएकामा ६६ जना मात्र संक्रमणमुक्त भएको पाइएको छ । संक्रमित संख्यामा फुङ्लिङ नगरपालिकामा बढी भए पनि सक्रिय संक्रमितको संख्यामा आठराई त्रिवेणीले नगरपालिकालाई पछि पारेको हो ।


स्वास्थ्य कार्यालय र यहाँका ९ वटै स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार आठराई त्रिवेणीमा ७७ जना सक्रिय कोरोना संक्रमित रहेको देखिएको छ ।

 

१५४ संक्रमित भएकामा ७७ जना भने संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार अहिले सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५ जना सक्रिय संक्रमित छन् ।

 

नगरपालिकामा ४ सय ५१ संक्रमित भएकामा ३ सय ९६ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा कम सक्रिय संक्रमित सिदिङ्वा गाउँपालिकामा १ जना मात्र देखिएका छन् । यहाँ ८ जनामा संक्रमण देखिएकामा ७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।

 

मैवाखोला गाउँपालिकामा ३९ जना सक्रिय संक्रमित देखिएका छन् । मैवाखोलामा ७२ जनामा संक्रमण देखिएकामा ३३ जना संक्रमणमुक्त भइसकेको जिल्ला प्रशासन कार्यालयका खरिदार विशाल काफ्लेले जानकारी दिए । 

 

मेरिङदेन गाउँपालिकामा २४ जना सक्रिय संक्रमित छन् । यहाँ ७२ जनामा संक्रमण देखिएकामा ४८ जनाले स्वास्थ्य लाभ गरेको प्रशासन कार्यालयले बताएको छ । मिक्वाखोला गाउँपालिकामा १२ जना सक्रिय संक्रमित छन् । मिक्वाखोलामा ३७ जनामा संक्रमण देखिएकामा २५ जना संक्रमणमुक्त भइसकेका छन् ।

 

फक्ताङलुङ गाउँपालिमामा १३ जना सक्रिय संक्रमित देखिएका छन् । यहाँ २९ जनामा संक्रमण देखिएकामा १६ जना संक्रमणमुक्त भएका छन् । पाथीभरा याङ्बरक गाउँपालिकामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकामा २७ जना संक्रमणमुक्त भई १० जना सक्रिय संक्रमित रहेको पाइएको छ ।

 

सिरिजंगा गाउँपालिकामा ४० जना सक्रिय कोरोेना संक्रमित रहेको पाइएको छ । यहाँ ७० जनामा संक्रमण देखिदा ३० जना संक्रमणमुक्त भएको प्रशासनको विवरणमा उल्लेख छ । कुल १ हजार ८० जना संक्रमित रहेकामा ७२५ जना भने संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।