close

गण्डकीका पहिलो श्रेणीका स्वास्थ्य संस्थामा धौलागिरि अस्पताल उत्कृष्ट 

गण्डकीका पहिलो श्रेणीका स्वास्थ्य संस्थामा धौलागिरि अस्पताल उत्कृष्ट 

Trulli
ADVERTISEMENT

बागलुङ– गण्डकी प्रदेशका सेकेन्डरी ‘ए’ लेभलका चिकित्सा संस्थाहरूमा बागलुङको धौलागिरि अस्पताल उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको अध्ययनमा अस्पताल उत्कृष्ट घोषित हुँदै पहिलो भएको हो ।

 

निर्देशनालयका अनुसार प्रदेशभर रहेका ‘ए’ लेभलका ३ मध्ये धौलागिरि अस्पतालले न्यूनतम मापदण्ड पूरा गरेको पाइएको हो । विभिन्न मापदण्ड बनाएर गरिएको सर्वेक्षणमा १ सय पूर्णांकमा अस्पतालले ७३ नम्बर प्राप्त गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले बताए ।

‘अस्पतालको सबैभन्दा राम्रो अंक अप्रेसन थियटरमा आएको छ । क्यान्टिनको व्यवस्था नभएकाले १७ अंक गुम्यो,’ शर्माले भने, ‘अरू सबै मापदण्डअनुसारको सेवा र पूर्वाधार रहेको भन्दै हामी उत्कृष्ट घोषित भएका छौँ ।’ बेनी अस्पताल म्याग्दी र गोरखा अस्पताललाई गण्डकी प्रदेश सरकारले ‘ए’ तहका अस्पतालको रूपमा विकास गरिरहेको छ ।

 

निर्देशनालयका अनुसार बेनी अस्पतालले ४० र गोरखा अस्पतालले ६५ अंक प्राप्त गरेका छन् । कोभिड–१९ र अन्य रोगको उपचार तथा प्रशासन र पूर्वाधारको समेत मूल्यांकन गरेर अस्पतालको स्तरीकरण गरिएको हो । गण्डकीमा रहेका अन्य सबै अस्पताल जिल्ला अस्पतालको रुपमा रहेका छन् भने गण्डकी पोखरा प्रादेशिक अस्पताल हो । 

 

प्रदेशभर रहेका जिल्ला अस्पतालहरूको स्तरीकरणमा जिल्ला अस्पताल पर्वत प्रथम भएको थियो । धौलागिरि अस्पतालमा रहेको जनशक्ति, उपलब्ध सेवा, सेवामा चुस्तता, पूर्वाधारलगायत शीर्षकमा मूल्यांकन भएको थियो ।