close

आठराई त्रिवेणीमा समुदायस्तरमै फैलियाे कोरोना संक्रमण

आठराई त्रिवेणीमा समुदायस्तरमै फैलियाे कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले अद्यावधिक गरेको विवरणअनुसार आठराई त्रिवेणी गाउँपालिकामा १६९ जना कोरोना संक्रमित छन् ।


यो जिल्लाभरिका स्थानीय तहमध्ये सबैभन्दा बढी हो । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार फुङ्लिङ नगरपालिकामा ५२, मेरिङेनमा ३२, मैवाखोलामा ३१, मिक्वाखोलामा १२, पाथीभरा याङ्बरकमा १ जना, सिरिजंगामा ४४, फक्ताङ्लुङमा ११ र सिदिङ्वा गाउँपालिकामा ७ जना सक्रिय कोरोना संक्रमित छन् ।


ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गरिएकामध्ये ११० जना सक्रिय कोरोना संक्रमित रहेको खरेलले जानकारी दिइन् । योसहित जिल्ला भरमा सक्रिय कोरोना संक्रमितको संख्या ४६९ जना पुगेका छन् ।


संक्रमितमध्ये ८२४ जना भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले बताएको छ । एन्टिजेन विधिबाट कुल ३ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो । 

 

मृत्यु संख्या १८ पुग्यो 

स्वास्थ्य कार्यालयका अनुसार ताप्लेजुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य कार्यालयले संकलन गरी अद्यावधिक गरेको विवरणअनुसार ७ पुरुष र ११ महिलाको ज्यान गएको हो ।


विवरणअनुसार सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा १२, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकामा २-२ जना तथा सिरिजंगा र मिक्वाखोलामा १-१ जनाको ज्यान गएको छ । 

 

पिसिआर विधिबाट करिब साढे २१ सयको परीक्षण

कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता पिसिआर विधिबाट कुल २ हजार १ सय ६७ जनाको परीक्षण गरिएको छ । सोमध्ये ४९८ जनामा संक्रमण पुष्टि भएकामा अहिले पिसिआर विधिबाट परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।