close

​​​​​​​कोरोनासँगै डेंगु रोक्ने अभियान

​​​​​​​कोरोनासँगै डेंगु रोक्ने अभियान

Trulli
ADVERTISEMENT

बागलुङ- कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने डेंगुको संक्रमण बढ्न सक्ने आशंकामा बागलुङमा सचेतना अभियान थालिएको छ ।  बागलुङ नगर स्वास्थ्य शाखाले बुधबारदेखि थालेको अभियानमा सरसफाइ, सचेतना र डेंगुका लक्षणबारे जानकारी दिएर बच्ने उपायको खोजी थालिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । 

 

अभियानअन्तर्गत स्वास्थ्यकर्मीलाई तालिम दिइनेछ । विशेषगरी पानी जम्ने खाल्डाखुल्डी भएका स्थान, टायर र अन्य प्लास्टिकजन्य फोहोर राखिएका स्थानमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टे हुने गर्छन् । लामखुट्टेले टोक्दा डेंगु सर्ने खतरा भएकाले त्यस्ता ठाउँ खोजेर सरसफाइ अभियान चलाएको बागलुङ नगरपालिका वडा नम्बर २ का सदस्य अर्जुन घिमिरेले बताए । 

 

डेंगु लाग्दा पनि कोरोनाजस्तै लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् । ज्वरो आउने यो रोगको प्रमुख लक्षण हो । लक्षण देखिए तत्काल परीक्षण गर्न पालिकाका स्वास्थ्य शाखा र धौलागिरि अस्पतालमा परीक्षण किटसमेत पठाइएको छ ।  रगत जाँचपछि मात्र डेंगु पत्ता लगाउन सकिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । 


एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आए उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने काम भइरहेको गुरौले जानकारी दिए । विशेषगरी टायरमा जमेको पानी डेंगुका लागि बढी खतरा भएको सबैलाई सूचना प्रवाह गरिएको हो । 


‘धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेंगुका लक्षण हुन्’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुन सक्छ ।’

 

बिरामी बढी सिकिस्तै हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उनले सुझाए । अस्पतालले कोरोनाका लागि आइसोलेसन वार्ड बनाएझैं डेंगुका बिरामी आए उपचार गर्ने र रगत परीक्षणका लागि ल्याब शाखालाई तयारी अवस्थामा राखिएको डा. पोखरेलले बताए ।

 

पालिकाहरूले पनि स्वास्थ्य शाखालाई सक्रिय बनाएर सरसफाइमा लगानी बढाएको बताएका छन् । ‘अहिलेसम्म पोजेटिभ केस भेटिएको छैन तर जोखिमको समय भएकाले एकै पटक धेरै जनामा संक्रमण देखिन पनि सक्छ,’ खनालले भने, ‘नागरिकसम्म सचेतना अभियानै रोकथामको उपाय हो ।’ 

 

पानी जम्ने गरी बनेका खाल्डाखुल्टी पुर्ने र धेरै लामखुट्टे बस्ने ठाउँमा धुँवा लगाएर धपाउने काम गर्न सकिने उनले सुझाव दिए ।  गत वर्ष म्याग्दी र बागलुङमा डेंगुका संक्रमित देखिएका थिए । उनीहरूलाई साता दिनसम्म अस्पतालमा भर्ना गरेपछि मात्र निको भएर घर पठाइएको थियो ।

 

‘सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेंगु लामखुट्टेकै टोकाइबाट सर्ने भएकाले झुल टाँगेर सुत्नुपर्छ,’ खनालले भने, ‘एक पटक संक्रमण भएपछि दोहोरिने दर बढी भएकाले सचेत बन्नुपर्छ ।’ बसपार्क एवं ग्यारेज क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टायर हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि प्रहरी, सेना र प्रशासनले पनि आग्रह गरेका छन् ।