close

ताप्लेजुङमा कोरोना संक्रमण: सहरमा नियन्त्रण हुँदै, गाउँमा बढेको बढ्यै

ताप्लेजुङमा कोरोना संक्रमण: सहरमा नियन्त्रण हुँदै, गाउँमा बढेको बढ्यै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सहरी क्षेत्रमा नियन्त्रण उन्मुख देखिएको कोरोना संक्रमण अहिले ताप्लेजुङका गाउँ-गाउँमा भने ह्वात्तै बढेको छ ।  कुनै बेला सदरमुकाम फुङ्लिङ नगर क्षेत्रमा संक्रमणको दर अचाक्ली भएको अवस्था अहिले ठीक गाउँतिर सरेको पाइएको हो ।


सबैभन्दा बढी कोरोना संक्रमित अहिले आठराई त्रिवेणी गाउँपालिकामा रहेका छन् । त्यहाँ अहिले १ सय ७१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । 


जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार २ सय ५३ जनामा संक्रमण देखिएको आठराई त्रिवेणीमा ८२ जना मात्र संक्रमणमुक्त भएका छन् । अरू पालिकामा संक्रमण दर उच्च हुँदा लामो समयसम्म सुरक्षित रहेका मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकामा पनि संक्रमण दर निकै ठूलो मात्रामा रहेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।


स्वास्थ्य कार्यालयको विवरणअनुसार मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकामा क्रमशः ५९ र १६ जना संक्रमित छन् । ८५ जना संक्रमित रहेको मिक्वाखोलामा २६ जना र ४० जना संक्रमित भएको फक्ताङ्लुङमा २६ जना संक्रमण मुक्त भएका छन् । 


जिल्लाभरमै सबैभन्दा कम संक्रमित पाथीभरा याङ्बरकमा देखिएका छन् । ३७ जनामा संक्रमण देखिएको त्यहाँ ३६ जना संक्रमणमुक्त भइ १ जना मात्र सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


मैवाखोला गाउँपालिकामा ३२ जना सक्रिय संक्रमित छन् । ५३ जनामा संक्रमण देखिएको त्यहाँ ५१ जना संक्रमणमुक्त भएका हुन् । ९२ जनामा संक्रमण देखिएको मेरिङ्देन गाउँपालिकामा ५४ जना संक्रमणमुक्त हुँदा ३८ जना अझै सक्रिय संक्रमित छन् ।


१ सय ३ जनामा संक्रमण देखिएको सिरिजंगा गाउँपालिमामा ५६ जना संक्रमणमुक्त हुँदा ४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले बताएको छ । सिदिङ्वा गाउँपालिकामा भने ८ जना संक्रमित छन् । १४ जनामा संक्रमण देखिएको त्यहाँ ६ जना संक्रमणमुक्त भएका छन् । 

 

३६ प्रतिशत अझै संक्रमित 

ताप्लेजुङमा कुल संक्रमित संख्याको आधारमा अहिले पनि करिब ३६ प्रतिशत सक्रिय संक्रमित रहेको पाइएको छ । कुल १ हजार १ सय ७३ जना संक्रमित भएकामा ४ सय १६ जना अझै सक्रिय संक्रमित रहेको तथ्यांक स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ ।


यस आधारमा कूल संक्रमितमध्ये ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । तथ्यांकअनुसार करिब ६२.५ प्रतिशत संक्रमणमुक्त भएका छन् । 

 

संक्रमणबाट थप एकको मृत्यु

ताप्लेजुङमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित भई ताप्लेजुङ जिल्ला अस्पतालको कोभिड अस्पतालमा उपचार गराइरहेकी एक महिलाको थप उपचारका लागि झापातर्फ लैजाने क्रममा मृत्यु भएको हो । योसहित ताप्लेजुङमा कोरोना संक्रमणको दोस्रो भेरिएन्ट सुरु भएयता मृत्यु हुनेको संख्या १९ पुगेको छ । 


स्वास्थ्य कार्यालयले यसअघि नै १८ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक गरिसकेको छ । तर, जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको विवरणमा भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ मात्र रहेको उल्लेख छ ।  कुल संक्रमित संख्यालाई आधार मान्ने हो भने ताप्लेजुङमा १.६१ प्रतिशत मृत्युदर देखिएको छ ।