close

सुनौला हजार दिनका आमालाई कोसेली बाँड्न घरदैलो चहार्दै बडिमालिका नगर उपप्रमुख

सुनौला हजार दिनका आमालाई कोसेली बाँड्न घरदैलो चहार्दै बडिमालिका नगर उपप्रमुख

Trulli
ADVERTISEMENT

बाजुरा– सुनौला हजार दिनका आमा र बच्चालाई कुपोषणबाट जोगाउन बाजुराको बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्टले पोषिलो खाना बोकेरै घरदैलो अभियान सुरु गरेकी छन् ।

 

गभर्वती भएदेखि २ वर्षसम्म आमा र बच्चालाई कुपोषणको कहरबाट बचाउन उपप्रमुख विष्ट विभिन्न प्रकारका पोषिला खाना बोकेर सुनौला हजार दिनका आमाको घरमा पुगेकी हुन् । नगरपालिकाले अन्डा, लिटोलगायत पोषिलो खाना घर–घरमै पुुर्याउँदै आएको छ ।

 

नगरपालिकाभित्र अहिले १५ सय सुनौला हजार दिनका आमा छन् । तीमध्ये पनि जोखिममा रहेका सुनौला हजार दिनका आमालाई उपप्रमुख विष्टको टिम घरमै पुुगेर अन्डालगायत पोषिलो खानेकुरा दिने गरेको छ ।

 

सुनौला हजार दिनका आमा र बच्चा बर्सेनि कुपोषणको चपेटामा पर्ने भएकाले नगरपालिकाले घरमै पुुगेर पोषिला खानेकुरा वितरण गरिरहेको हो । सुनौला हजार दिनका आमालाई पोषिलो खाना मात्र नभई पोषण र सफाइबारे जानकारीसमेत दिइने गरेको नगरउपप्रमुख विष्टले सुनाइन् ।

 

सुनौला हजार दिनका आमालाई पोषिलो खानेकुराका साथै सरसफाइ, नियमित गर्भजाँच, महिला हिंसा, सामाजिक रुढीवादलगायत विषयबारे जनचेतना दिइने गरेको छ । 

 

नगरपालिकाको पशु सेवा शाखाद्वारा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरभित्रका हजार दिनका आमा र बच्चालाई पोषणयुक्त बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

उपप्रमुख विष्टले वडा नम्बर ४ का सुनौला हजार दिनका आमालाई रिलागाउँ पुगेर प्रतिआमा तथा बच्चा बराबर १ क्यारेटका दरले अन्डा वितरण गरेको बताइन् ।
त्यसैगरी वडा नम्बर १, २, ७, ८ र ९ का हजार दिनका आमालाई पोषिलो खाना वितरण गरिएको उनले जानकारी दिइन् ।

 

नगरपालिकाले पोषणयुक्त खानामा आत्मनिर्भर बन्न सुनौला हजार दिनका आमालाई करेसाबारी, कुखुरासमेत सहयोग गर्दै आएको छ ।