close

काठेखोलामा ३०७ योजना फरफारक

काठेखोलामा ३०७ योजना फरफारक

Trulli
ADVERTISEMENT

बागलुङ–बागलुङको काठेखोला गाउँपालिकाले चालू आर्थिक वर्षका अधिकांश योजना सम्पन्न गरेको छ ।

 

३१० योजना सम्झौता गरेकामा ३०७ वटा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत चुडाबहादुर कार्कीले बताए । काम सकेर मंगलबारै रकम फिर्ता समेत गरेको छ । छुटेका ३ योजनामध्ये वडा नम्बर ७ का २ योजना र वडा नम्बर ६ को कोट पदमार्ग योजनाबाहेक सबै सम्पन्न भएका हुन् । 

 

बिहुँको खोलातिर आधारभूत विद्यालयले सम्झौता गरेर पनि काम सम्पन्न नभएको हो । गाउँपालिकाले गरेको अनुगमन र मूल्यांकनमा पनि ती योजनाको राम्रो प्रगति देखिएको कार्कीले जानकारी दिए । 

ती योजनामा खर्च हुन नसकेको ससर्त बजेटतर्फको १ करोड ८९ लाख ८० हजार ६ सय ५८ रुपैयाँ बुधबार कोष तथा लेखा नियन्त्रण कार्यालयमा फिर्ता गरेको छ ।


फिर्ता भएकोमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री रोजगार कार्यक्रमको छ । रोजगार कार्यक्रमअन्र्तगत ३९५ जनालाई सय दिने रोजगार बनाउन आएको १ करोड ११ लाख ९१ हजार रुपैयाँमध्ये २ सय ७५ जनाले ८० दिन मात्रै काम गरेकाले ९२ लाख ३५ हजार रकम फिर्ता भएको हो । 

 

चालू आर्थिक वर्षको १० असारसम्म विभिन्न शीर्षकमार्फत गाउँपालिकाको खातामा आएको ५५ करोड ७५ लाख रुपैयाँमध्ये अधिकांश काम सम्पन्न भएको उनले जानकारी दिए । सुरक्षित आवास कार्यक्रममा प्रतिघर ५० हजार रुपैयाँ दिनुपर्नेमा २ घरले सम्झौता गरे पनि बजेट लगेका थिएनन् । 


दाताले दिए अक्सिजन कन्सन्ट्रेटर

 

स्कटल्यान्डका निल रिची नामक व्यक्तिले स्वास्थ्य कार्यालय बागलुङका लागि २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बागलुङका विभिन्न स्थानमा अझै कोरोनाका बिरामीको उपचारमा आवश्यक परेको जानकारी पाएपछि उनले १० लिटरका २ वटा कन्सन्ट्रेटर पठाइदिएका हुन् । 

 

व्यक्तिगत चिनजानको कारणबाट बिवाइसी बागलुङको साझेदारीमा सञ्चालित फेयर मेड फाउन्डेसनका कार्यक्रम अधिकृत वेदप्रकाश शर्मामार्फत ती सामान पठाएका हुन् । शर्माले स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ र कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेलाई ती सामग्री हस्तान्तरण गरे । गुरौले आवश्यक परेको आधारमा ग्रामीण तहका कोभिड अस्पतालमा ती सामान पठाइने बताए ।