close

धरानमा पहिलो दिन १ हजार ८ जनाले लगाए खोप 

धरानमा पहिलो दिन १ हजार ८ जनाले लगाए खोप 

Trulli
ADVERTISEMENT

धरान- सुनसरीको धरानमा कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप १ हजार ८ जनाले लगाएका छन् । उपमहानगरको स्वास्थ्य महाशाखाका अनुसार बुधबार पहिलो दिन कोरोनाविरुद्धको खोप ५०७ जना पुरुष र ५०१ महिलाले लगाएका हुन् ।


बुधबार वडा नम्बर २ को सिंहदेवीस्थित पुरानो बालिका स्कुलमा १२०, वडा नम्बर ३ को भानु स्मृति माविमा १५०, वडा नम्बर ४ को हर्दियास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ५२, वडा नम्बर ६ को पानबारीस्थित सरस्वती माविमा २१०, वडा नम्बर ७ को सिद्धि नेवाः परिषद्मा १२४, वडा नम्बर ९ को समिट माविमा १४२ र वडा नम्बर १० को सैनिक भवनमा २१० जनाले खोप लगाएको स्वास्थ्य महाशाखाका अधिकृत दीपा अधिकारीले जानकारी दिइन् ।


अधिकृत अधिकारीका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका ६२१, अति अपांगता तथा पूर्ण अपांगता भएका १९, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी १३९ र वैदेशिक रोजगारमा जाने २२९ जनाले खोप लगाएका छन् । धरानका लागि यो खोप ५ हजार डोज आएको छ । 

 

यस्तै, धरान वडा नम्बर १ स्थित उद्योग वाणिज्य संघमा ३५७ जना उद्योगी व्यवसायीले भेरोसेल खोप लगाएका छन् । २०४ पुरुष र १५३ जना महिलाले खोप लगाएका हुन् । बुधबार छुटेका व्यवसायीले उक्त खोप केन्द्रमा बिहीबार पनि खोप लगाउनेछन् । उद्योग व्यवसायीका लागि ७ सय भेरोसेल खोप छुट्याइएको छ । 


भेरोसेल खोप धरानका लागि ३ हजार आएको छ । खोप केन्द्रमा २२ र २३ साउनमा ५५ वर्ष उमेरमाथिका र मानव अधिकारकर्मी, बैंक, बिमा, लघुवित्त, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लायन्स क्लब, रोटरी, संघ–संस्था, इन्टरनेट केबुलमा कार्यरत कर्मचारी, सैलुनलाई भेरोसेल खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । 

 

मेयर तिलक राईको नेतृत्वमा बुधबार धरानका विभिन्न खोप केन्द्रमा अनुगमनसमेत गरिएको थियो । मेयर राईको नेतृत्वमा जिल्ला समन्वय समितिका अध्यक्ष एवं खोप संयोजक गोपालराज भण्डारी, धरानका विभिन्न राजनीतिक दलका नेता, उपमेयर मञ्जु भण्डारी, राजस्व महाशाखा प्रमुख एवं सूचना अधिकृत खगेन्द्र प्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापासहितको टोली अनुगमन गर्न खोप केन्द्र पुगेको थियो ।
 
२१ साउनमा वडा नम्बर ११ का लागि ज्ञानोदय मावि, वडा नम्बर १२ का लागि पब्लिक हाइस्कुल, वडा नम्बर १४ का लागि दन्तकाली मावि, वडा नम्बर १६ का लागि चन्द्र संस्कृति मावि, वडा नम्बर १७ का लागि पञ्चायत मावि रेल्वे र वडा नम्बर १९ का लागि किरातेश्वर माविमा खोप केन्द्र तोकिएको ।


यसैगरी अन्तिम दिन २२ साउनमा नम्बर १ का लागि छाताचोकस्थित धरान स्वास्थ्य चौकी, वडा नम्बर ८ का लागि सभागृह, वडा नम्बर ५ का लागि पाँचकञ्या स्वास्थ्य चौकी, वडा नम्बर १३ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर १३, वडा नम्बर १५ का लागि पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, वडा नम्बर १८ का लागि कार्मेल हाइस्कुल र वडा नम्बर २० का लागि विष्णुपादुका स्वास्थ्य चौकीमा खोप लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।