close

कोभिड फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई गाउँपालिका कर्मचारीकाे सम्मान 

कोभिड फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई गाउँपालिका कर्मचारीकाे सम्मान 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । जनप्रतिनिधि मौन रहेपछि गाउँपालिकाका कर्मचारीले नै स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागार्इं, एक स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई सम्मान गरेका हुन् । 


महामारीमा दिनरात नभनी ज्यानको प्रवाह नगरी कोभिड रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई गाउँसभामा जनप्रतिनिधिले सम्मान गर्नुपर्ने हो । तर, त्यस विषयमा अहिलेसम्म बेखर देखिएपछि कर्मचारीबीच छलफल गरेर स्वास्थ्यकर्मीलाई सम्मान कार्यक्रम राखेको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले बताए । 


उनले भने, ‘हामीले पनि ठूलो सम्मान दिन सकेका छैनौँ । हौसला बढाउन र प्रोत्साहन दिन स्वास्थ्य संयोजकलगायतलाई सम्मान गरिएको हो ’। कोभिड रोकथामसँगै कार्यालयको कामकाजमा उत्कृष्ट कर्मचारी छनोट गरी जनप्रतिनिधिले कार्यपालिकाबाट निर्णय गरेर सम्मान गर्नुपर्ने हो । 


हालसम्म जनप्रतिनिधिले चासो नदेखाएपछि कर्मचारीको सल्लाहमै सम्मान गरिएको लेखा अधिकृत बुढ्थापाको भनाइ छ । कोभिड रोकथाम मात्र नभई अन्य क्षेत्रमा पनि उल्लेख्य काम गर्ने कर्मचारीलाई सम्मान गर्ने संस्कारको विकास गर्नु राम्रो भए पनि त्यसको थालनी गर्न स्थानीय तहमा कन्जुस्याइँ भइरहेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । 


उनका अनुसार कुनै पनि क्षेत्रमा खटिने कर्मचारीलाई कामप्रति अपनत्व र जिम्मेवारीबोध गराउन पनि सम्मान प्रोत्साहन गर्न आवश्यक छ । तर, अहिलेसम्म तातोपानीमा यस्तो कार्य हुन सकेको छैन । 
सम्मान कार्यक्रममा उपस्थित गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले कोभिडमा खट्ने कर्मचारीलाई सम्मान गर्ने कुरा अध्यक्ष र आफूबीच भएको तर कार्यपालिकामा निर्णय नभएको बताइन् । कर्मचारी आफंैले सम्मान कार्यक्रम राख्नु सराहनीय भएको उनको भनाइ छ । 


स्वास्थ्य शाखा संयोजक चौलागाईंले कोरोना महामारी नियन्त्रणमा निरन्तर खटिरहेकामा जनप्रतिनिधिले नभई कर्मचारीबाट भएको सम्मानले थप ऊर्जा र जिम्मेवारी बढेको बताए । तातोपानीका जनप्रतिनिधिले आफ्नो कार्यकालको ४ वर्ष बिताइरहँदा हालसम्म कर्मचारी सम्मान गर्ने संस्कारको विकास भने गर्न सकेका छैनन् । 


काम गर्नेबित्तिकै सम्मान पाउनु पर्छ भन्ने मानसिकता कसैको हुँदैन । सम्मान मागेर पाइने कुरा पनि हैन । तर, सिंगो पालिका सञ्चालनको जिम्मा पाएको राजनीतिक संयन्त्रयले कर्मचारीलगायतलाई अहिलेसम्म सम्मान गरेको छैन ।